डडेल्धुरा – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजधानी डडेल्धुरा सार्ने कुरा आफूले नगरेको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियन डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्छु भनेर यसअघि आफूले आवासन नदिएको बताए।
‘पहाडमा पूर्वाधारको अभाव भएका कारण राजधानी बनाउन समस्या भएको हो भनेर बोलेको हुँ,’ उनले भने, ‘राजधानी नै सार्छु भनेको छैन । डडेल्धुरा भन्दा बरु डोटीका लागि कुरा भएको हो ।’
प्रदेश सभाले २०७५ असोज १२ गतेको बैठकमा दुई तिहाईको निर्णयबाट सुदूरपश्चिमको प्रदेश राजधानी कैलालीको गोदावरी नगरपालिका–४ तेघरी गोदावरीमा निर्माण गर्ने निर्णय गरेको थियो । तर, अहिले सम्म उक्त स्थानमा राजधानी निर्माण हुन सकेको छैन । हाल धनगढीमा अस्थाइ राजधानीका रुपमा कामकाज हुँदै आएको छ ।