डडेल्धुरा – पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गरेका छन । सोमबार भेटघाटका कार्यक्रमसँगै उनले परशुराम धाममा पुगेर दर्शन गरेका हुन । नेपालका चार वटा धाम मध्येको एक परशुराम धाममा पुगेर देउवाले यस क्षेत्रको विकासका लागि सधैँ लागि परेको बताए ।
डडेलधुरा प्राकृतिक रूपमा रमणीय जिल्ला भएको र थुप्रै धार्मिक स्थल, शक्तिपिठ भएको जिल्ला पनि भएकाले धार्मिक पूर्वाधारहरूको विकास गरेर धार्मिक क्षेत्रको विकास गर्ने उनले बताए ।
देउवा मंगलबार बडालको लाटा गन्याप देवताको पूजाआजा जाँत (मेला) मा सहभागी हुने कार्यक्रम रहेको छ ।
बडाल जाँत दाइन दमाहा, भोकर, रुईसिँग बाजाको धुनमा हातमा नाङ्गो तलवार खेलाउँदै खेलिने छाला (नाच) चौलोले प्रसिद्ध छ । बडाल उनको गृह पालिका गन्यापधुरा गाउँपालिका–२ मा पर्छ । बुधबार कात्तिक २८ गते कांग्रेस डडेलधुरा कार्यसमितिको बैठक, २९ गते भेटघाट, ३० गते जन्मथलो गन्यापधुरा गाउँपालिका–१ रुवाखोलामा र मङ्सिर १ गते उग्रतारा मेला (देहिजाँत) जाने कार्यक्रम तय भएको उनले जानकारी दिए । देउवा मङ्सिर २ गते सङ्घीय राजधानी काठमाडौँ फर्किने कार्यक्रम छ ।