बझाङ – बझाङमा १६७ जना एचआइभी सङ्क्रमित फेलापरेका छन । जसमा ९५ जनाले मात्रै औषधि सेवन गरिरहेका छन । सोमबार जिल्लास्थित सरोकारवालासँग वार्षिक समीक्षा बैठकमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित केदारस्यूँ गाउँपालिकामा रहेको जानकारी दिइएको छ ।

तथ्याङ्क अनुसार केदारस्यूँ गाउँपालिकामा १९, थलारामा १८, छबिसपाथिभेरामा १३, बुङ्गल नगरपालिकामा ११, दुर्गाथली गाउँपालिकामा नौ, बित्थडचिर गाउँपालिकामा आठ जनाले औषधि सेवन गरिरहेको ग्लोबल फण्ड एचआइभी÷टिबी रोकथाम परियोजनाका कार्यक्रम अधिकृत अमृतप्रसाद पण्डितले जानकारी दिए ।

उनका अनुसार जयपृथ्वी नगरपालिकामा ८, मष्टामा ३, खप्तडछान्नामा ३, तलकोटमा २ जना एचआइभी सङ्क्रमितले औषधि सेवन गरिरहेका हुन् । ‘जिल्लामा देखिएको तथ्याङ्कानुसार सबै जिल्लामा छैनन’, उनले भने, ‘कतिपय सङ्क्रमित जिल्ला बाहिर गएर नियमित औषधि सेवन गरिरहेका छन ।’
तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार ९ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा ८ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिए ।

















