अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको स्याउले बजार व्यवस्थापन समितिले डस्टबिन पाएको छ । समितिलाई वडा कार्यालयले डस्टबिन दिएको हो ।
वडा कार्यालयले बुधबार उक्त डस्टबिन समितिलाई हस्तान्तरण गरेको छ । वडा कार्यालयले उपलब्ध गराएका ५० वटा डस्टबिनहरु वडाध्यक्ष गोबिन्द चौधरीले समितिका अध्यक्ष गोपाल देउवालाई हस्तान्तरण गरे ।


यसअघि वडा कार्यालयले दिएका प्लाष्टिकका डस्टविनहरु नहुँदा समस्या भैरहदा दोस्रो पटक वडा कार्यालयमार्फत नै आफुहरुले डस्टबिन पाएको समितिका अध्यक्ष देउवाले बताए । उनले नगरपालिकाले भने स्याउले बजारमा कुनै पनि बजेट नहालेको उनको गुनासो छ ।
अध्यक्ष देउवाले बजारलाई फरक तरिकाले चिनाउन विभिन्न कार्यहरु भैरहेको बताए । उनले बजारलाई ग्रिन एण्ड स्मार्ट सिटी बनाउने अवधारणा लिएको बताए । त्यही अवधारणा अन्र्तगत नै वडाबाट आर्थिक सहयोग लिएर बजारमा डस्टबिन राख्नुका साथै बजारमा रहेको गेटमा रंगरोगन गरिएको बताए । उनले करिब २५ वर्षसम्म ओझेलमा परेको गेटलाई रंग्याएर त्यसमा वडामा रहेका विभिन्न समुदायका व्यक्तिहरुको परम्परा अंकित हुने चित्रहरु राखिएको बताए ।
उनका अनुसार बजारमा डस्टबिन राख्न र गेट रंग्याउन वडा कार्यालयले गत आर्थिक वर्षमा २ लाख रुपैया विनियोजन गरेको थियो । गेट रंग्याउने कार्य गत वर्ष नै सम्पन्न भैसके पनि डस्टविन निर्माणमा समय लागेकाले केही ढिला गरी हस्तान्तरण भएको उनले बताए । उनले बजारमा राखिने डस्टबिनहरुको सुरक्षाको जिम्मेवारी पसल व्यवसायीलाई नै दिईने उनको भनाई थियो ।
अत्तरिया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दल बहादुर खड्काले विगत र अहिलेको तुलनामा स्याउले बजार परिवर्तन भएको आफुले महसुस गरेको बताए । उनले बजार व्यवस्थापन समितिको नेतृत्वमा बजारमा राम्रा कार्यहरु भएको बताए । उनले आगामी दिनहरुमा पनि आफ्नो टोल, गाउँ आफै बनाउ भन्ने लक्ष्यलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताए ।
वडाध्यक्ष चौधरीले वडालाई सफा राख्नुपर्छ भन्ने उद्देश्यका साथ समितिलाई डस्टबिन सहयोग गरिएको बताए । उनले वडालाई सफा, सुग्घर बनाउने लक्ष्य रहेको बताए । त्यसका साथै वडामा आउने आगन्तुकहरुलाई चिनारीको रुपमा रहोस भन्नका लागि स्याउले बजारमा रहेको गेटमा विभिन्न संस्कृति झल्कने चित्रहरु अंकित गरी रंगरोगन गरिएको उनले बताए । समितिमार्फत बजारको व्यवस्थापन र सरसफाईको लागि वडा कार्यालयले सहकार्य गरेको उनको भनाई छ ।


















