दुई दिन पनि टिकेन बोहरा दम्पतीको खुसी

अत्तरिया – नेपालमा सडक मार्गको यात्रा गर्ने यात्रुलाई कुनै युद्ध  लड्न गएको सिपाही सँगै तुलना गर्दा अनुक्ति नहोला । किनकि यात्रा गर्दा कुन बेला कहाँ जीवन गुमाउनुपर्ने हो टुङ्गो हुँदैन । खुसी कहाँ चुँडिने हो पत्तो हुँदैन । यही नियतिको सिकार बनेका छन् मंगलबार मध्य राती डडेल्धुरामा बस दुर्घटनामा ज्यान गुमाएका बोहरा दम्पती । परिवारमा नव आगन्तुक सन्तानलाई काखी च्यापेर घर फर्किँदै गरेका बेला उनीहरुको खुसी चुँडियो, परिवार एकै चिहान भयो ।

maya metro hospital

पहिलो सन्तानको जन्म दिन बैतडीको पुर्चौंडी नगरपालिका–३ तोली गाउँबाट श्रीमान् सहदेव बोहरा सँगै धनगढी आएकी कमला बोहराले सोमबार मात्रै शिशुलाई जन्म दिएकी थिइन् । शिशुलाई सुरक्षित जन्म दिन उनीहरू धनगढी आएका थिए । पहिलो सन्तानका रूपमा छोरालाई जन्म दिएर घर फर्किरहेका बोहरा दम्पतीले शिशु मात्रै गुमाएनन् आफूले पनि अनायासै ज्यान गुमाउन पुगे । बोहरा दम्पतीको खुसी २ दिनमै उजाडियो । दुर्घटनामा छोरीको स्याहार गर्न आएकी ४५ वर्षीय जैमती बोहराले पनि ज्यान गुमाएको पुर्चौंडी नगरपालिका–३ का वडाध्यक्ष खगेन्द्र बहादुर बोहराले बताए । उनले दुर्घटना पछि तोली गाउँ शोकमा डुबेको बताए ।

महेन्द्रनगरबाट बैतडीको हाटपचौडीका लागि छुटेको बस अमरगढी नगरपालिका– ७ खसरेखान नजिक दुर्घटना हुँदा एकै परिवारका ४ जना सहित ५ जनाले ज्यान गुमाएका छन् । पवनदुत यातायातको ना ८ ख १०७८ नम्बरको बस दुर्घटनामा परेर पुर्चौंडी नगरपालिका–१० की ६२ वर्षीय गोवणी महरा पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर बमले जानकारी दिए ।

attariya hospital

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइते हुनेमा पुर्चौंडी नगरपालिका–७ का २४ वर्षीय नवराज साउँद, वडा नम्बर ६ का २४ वर्षीय राजेन्द्र साउँद, कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ का २५ वर्षीय दिनेश साउँद, डडेल्धुराको आलिताल गाउँपालिका–१ का २१ वर्षीय मुकुन्द बोहरा, दार्चुलाको मार्मा गाउँपालिका–५ बस्ने ३४ वर्षीय विमला महता, कृष्णपुर नगरपालिका–५ की ६५ वर्षीय धनमति साउँद रहेका छन् ।

यस्तै, पुर्चौंडी–८ का ४२ वर्षीय पदमबहादुर बोहरा, सोही ठाउँका बस चालक २४ वर्षीय वीरेन्द्र बोहरा, वडा नम्बर ७ का २८ वर्षीय नवराज रतौकी, २० वर्षीय सुरेन्द्र रतौकी, वडा नम्बर १० का दामोदर महरा र धनबहादुर महरा पनि घाइते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको जनाइएको छ । चालक निदाएकाले बस सडकबाट पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाग्रस्त बस पुरै धुजा धुजा भएको छ ।

सुदूरपश्चिममा तराई र पहाडी जिल्ला जोड्ने सडकमा बर्सेनि ठुला साना घटना भइरहेका हुन्छन् । यस रुटमा बढी जसो रातिको समयमा यात्रा गरिने भए पनि सडक भने सो अनुसार स्तरोन्नति हुन सकेको छैन । रात्रिकालीन समयमा एउटै चालले रातभरि सवारी चलाउने गरिएकाले यस्ता घटनाको जोखिम झन् बढी हुने गरेको छ ।

जसले गर्दा सुदूरपश्चिमको तराई पहाड जोड्ने राजमार्गमा भएका सवारी दुर्घटनामा मात्रै बर्सेनि सयौँले ज्यान गुमाएका छन् भने ज्यान गुमाउनेका परिवार तहसनहस भएका छन् । तर, राज्यले भने हवाईजहाज, हेलिकोप्टर दुर्घटना हुँदा दुर्घटनाको कारण खोज्नको लागि भए पनि अनुसन्धान गर्दै आएको भए पनि सडक दुर्घटनामा भने दैनिक जसो मानिसहरूले ज्यान गुमाउँदा पनि मृतकको सङ्ख्या गन्ने काम मात्रै गर्दै आएको छ ।

पहाडी रुटमा टाइमकाड दिने, दुई जना चालक राख्ने, जोखिम भएर रात्रिकालीन बस सेवामा रोक लगाउने जस्ता नियम ल्याएको भए पनि ती नियम कार्यान्वयनमा बेवास्ता गर्दै आइएको छ । त्यसैमा पछिल्लो समय पहाडी जिल्ला जोड्ने राजमार्ग ठाउँ ठाउँमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको झन् जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.