खाेज्नुहाेस

गेटा विश्वविद्यालयको विधेयक पास गराउनको लागि पहल गरिदिन सभामुख समक्ष आग्रह

Image

अत्तरिया – सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विधेयक प्रतिनिधि सभाबाट पास गराउन संघीय संसद्का सभामुख समक्ष माग गरिएको छ । बुधवार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले सभामुख देवराज घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो ।

संघर्ष समितिले विधेयकको प्रक्रिया अगाडि बढाएर आसन्न संसद् अधिवेशनको पहिलो बैठकबाटै विधेयक पास गराउन पहल गरिदिन आग्रह गरेको थियो ।

attariya hospital

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनार्थ विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा दफावार छलफलका लागि शिक्षा, विज्ञान तथा सूचना प्रविधि समितिमा पेस भएको तर, समितिमा महिनौँ बितिसक्दा पनि छलफलको प्रक्रिया नै सुरु नभएको ब्यहोरा अवगत गराउँदछौँ’ संघर्ष समितिका संयोजक लोकराज पाण्डेय (आगो) र सह–संयोजक आनन्द प्रसाद भट्टको हस्ताक्षर रहेको ज्ञापन पत्रमा भनिएको छ ‘तत्काल सो प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै विधेयकको अन्तिम रूप दिई आसन्न संसद् अधिवेशनको पहिलो बैठकबाटै पास गराउन पहल गर्नुहुनेमा हामी अत्यन्तै आशावादी छौँ ।’

ज्ञापन पत्रमा संघीय राज्य सत्ताबाट पटक–पटक सुदूरपश्चिमबासीप्रति गरिएको विभेद तथा अन्यायको सिलसिलाका रूपमा गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा भइरहेको ढिलाइलाई बुझेको उल्लेख छ ।

ज्ञापन पत्र मार्फत सभामुखलाई सुदूरपश्चिमबासीले बिरामी पर्दा छिमेकी मुलुक भारतका विभिन्न सहरका अस्पतालमा गएर चर्को रकम तिरेर उपचार गराउनु परेको र त्यहाँ उपचारभन्दा ठगिनुपरेको उल्लेख छ ।

navjiwan hospital

ज्ञापन पत्र बुझाउन गएको टोलीमा सहभागी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षिराम आचार्यले ६ सय शैय्याका निमित्त तयार भएको अस्पतालको संरचनामा हाल ५० शैय्या मात्र सञ्चालनमा आइरहेकोले यथाशीघ्र ३०० शैय्या हुँदै ६०० शैय्याको पूर्ण कालिन अस्पताल सञ्चालनका लागि पनि पहल गरिदिन सभामुख समक्ष माग गरिएको बताए ।

उनले बुधबार नै संघर्ष समिति मार्फत शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई पनि ज्ञापन पत्र बुझाएको बताए ।

यसअघि संघर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई ज्ञापन पत्र बुझाएको थियो ।