बेलौरी- कञ्चनपुरको बेलौरी पुगेका गृहमन्त्री रमेश लेखकले आफू भौतिक तथा पूर्वाधार मन्त्री हुँदा शिल्यान्यास गरेको हुलाकी सडकखण्ड ८ वर्ष बितिसक्दा समेत निर्माण सम्पन्न नहुँदा आफूलाई दुःख लागेको बताएका छन् । मङ्गलबार पार्टीका कार्यकर्ता भेटघाट तथा बधाइ कार्यक्रममा सहभागी भएका उनले यस्तो बताएका हुन् ।

‘हुलाकी बाटोमा हिन्दा मन चसक्क हुन्छ, शिलान्यास गरेको ८ वर्षसम्म तयार भएन,’ गृहमन्त्री लेखकले भने, ‘धेरैले पैसा नभएर हो भन्ने गर्छन् । त्यसो हैन, पैसा टन्न छुट्टाइएको हो ।’ उनले यसको लागि आफूले आवश्यक पहल गरिरहेको बताएका छन् ।

त्यस्तै, बेलौरी-कलुवापुर सडकखण्ड निर्माण आवश्यक रहेको र त्यसको लागि आफूले पहल गरिरहेको उनले बताए । गृह जिल्लामा पार्टी कार्यकर्ता भेटघाटको क्रममा कञ्चनपुरको दक्षिणी क्षेत्र पुगेका गृहमन्त्री लेखकलाई जिल्लाका विभिन्न समस्या समाधानका लागि ज्ञापन पत्र समेत बुझाइएको छ ।

पुनर्वास, लालझाडी, बेलौरी र बेल्डाँडीका स्थानीय, जनप्रतिनिधि र विभिन्न संघ सस्थाहरुले गृहमन्त्री लेखकलाई आफ्ना विविध समस्या समाधानका निम्ति पहल गर्न आग्रह गरेका छन् । विशेषगरी सीमा विवाद, डुबान समस्या, उखु कृषकको समस्या, हुलाकी सडक निर्माणमा ढिलाइ लगायतका विषयमा ज्ञापन पत्र बुझाइएको छ ।
दोदा नदीका कारण वर्षेनी स्थानीयले पाउने सास्ति, निकुञ्जका कारण किसानले भोग्नु परेको वन्यजन्तुको त्रास, डोकेबजार-पुर्नवास-बेलौरी-बेल्डाँडी हुँदै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक निर्माणको ढिलाइ, भारतीय निकायबाट सीमामा हुने ज्यादतीको विषयमा स्थानीय जनप्रतिनिधि र सरोकारवाला निकायले गृहमन्त्रीलाइ ज्ञापनपत्र बुझाएका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीको स्तरोन्नति र प्रहरी कार्यालय बेलौरीमा डीएसपीको दरबन्दीको समेत माग गरिएको छ ।
बेलौरी छोटी भन्सारको विषयमा बोल्दै गृहमन्त्री लेखकले अहिले छोटी भन्सार पूर्णतः सञ्चालन गर्न भारतको खजुरियामा भन्सार कार्यालय नहुँदा समस्या भएकोले पुरानै रुपमा सञ्चालन गर्न आफूले भारतीय राजदुतावाससँग छलफल गर्ने बताए । सशस्त्र द्वन्दकालको बेला विभिन्न ठाउँमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनका लागि सरकारले आवश्यक पहल गरिरहेको उनले आश्वासन दिए ।
इलाका प्रहरी कार्यालय बेलौरीको स्तरोन्नतिबारे गृहमन्त्री लेखकले प्रहरी आवश्यकता बढी र दरबन्दी कमी भएको बताउँदै बजेट अभावले अहिलेसम्म आवश्यक दरबन्दी र आवश्यकता अनुसार प्रहरी खटनपटनमा समस्या आएको बताए । बेलौरी पुगेका गृहमन्त्री लेखकले सीमा विवाद कुटनैतिक माध्यमबाट समाधान हुने बताउँदै सीमाको विषयमा धेरै बोल्न चाहेनन् ।