धनगढी – गौरा विसर्जन गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा धनगढी आउने कार्यक्रम तय भएको छ । मन्त्री राणा गौरा पूजाका लागि बुधबार बिहान धनगढी पुग्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का सभापति भीम पडालले जानकारी दिए ।

उनका अनुसार सुदूरपश्चिमको मौलिक पर्व गौराको समापन कार्यक्रमका लागि मन्त्री राणा धनगढी आउन लागेकी हुन् । मन्त्री राणाको धनगढीस्थित निवासमा भित्र्याइएको गौरा विसर्जन गर्ने कार्यक्रम रहेको पडालले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी राणाले पछिल्लो सात वर्षदेखि धनगढी पुगेर गौरा पर्व मनाउँदै आएकी छिन् । २०७४ सालको निर्वाचनअघि उनले धनगढीमा घर किनेकी थिइन् ।
त्यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मटेलामा पनि देउवाकै घरमा गौरा भित्र्याउने गरिएको थियो । अहिले देउवा परिवारले धनगढीस्थित देउवाको घरमा गौरा भित्र्याउने गरेका छन् ।

















