अत्तरिया – सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको मुख्य दिन सोमबार अठवाली मनाइँएको छ । सुदूरपश्चिमका बिभिन्न मन्दिरहरुमा हिन्दु महिलाहरुले अठवाली गाथा गाएर धुबधागो धारण गरेका छन । शिव र पार्वतीलाई गौरा र महेश्वरको रुपमा व्रतालु महिलाहरूले पञ्चबिरुडाले पुजा गर्छन् । अठवालीको दिन विवाहित महिलाले गौरा महेश्वरको पुजा गर्दै धुबधागो लगाउने र आफन्तहरूलाई आशीर्वाद दिने चलन छ ।

गौराको मुख्य दिन अठवालीमा गोदावरी नगरपालिका भित्रका बिभिन्न मन्दिरहरुमा पनि पुजाआजा र विशेष कार्यक्रम गरिएका छन । गोदावरी – ८ स्याउलेमा सोमबार गौरा पर्व मेला तथा देउडा खेल कार्यक्रमको उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका आर्थीक मामिला राज्यमन्त्री प्रकाश बमको प्रमुख आतिथ्यतामा गौरा पर्व मेला तथा देउडा खेल कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै उनले गौरा सुदूरपश्चिमको पहिचान भएको बताए । उनले गौरा सुदूरपश्चिमको पहिचान भएकाले यसको संरक्षणका लागि सबै लाग्न आवश्यक रहेको बताए ।
गौरा पर्वको अवसरमा स्याउलेमा आयोजित गौरा पर्व मेला तथा देउडा खेल कार्यक्रम भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । मेला सञ्चालन समितिका संयोजक गोपाल देउवाले यहाँको रिति रिवाज, संस्कृति र संस्कारको जर्गेना गर्न मेलाको आयोजना गरिएको बताए । उनले मेलामा स्थानिय देउडा कलाकारहरुका साथै सुदूरपश्चिमका विभिन्न जिल्लाका कलाकारहरुको सहभागिता रहने बताए । मेलामा स्थानिय बाहेक प्रदेशभरीका करिब १५ जना जती कलाकारहरुको सहभागिता रहने जनाइएको छ ।

















