न्युयोर्क । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफूमाथि भएको हमलापछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । रिपब्लिकन पार्टीको राष्ट्रिय अधिवेशनका लागि मिलवाकी आइपुग्दा ट्रम्पको दाहिने कानमा ठुलो पट्टी बाँधिएको थियो ।

रिपब्लिकन उपराष्ट्रपति पदका उम्मेदवार जेडी भान्स पनि उनीसँगै उपस्थित थिए । पार्टीका सिनेटर ब्यारोन डोनाल्ड्स दायाँतर्फ उभिरहेका थिए । उनका छोराहरू एरिक र डोनाल्ड जुनियर पनि उनीसँगै थिए । परिवारका अन्य सदस्यहरू पनि सँगै उभिरहेका थिए ।

राष्ट्रिय सम्मेलनमा वक्ताहरूको भाषणका क्रममा ट्रम्प मुस्कुराउँदै गरेको देखिएका थिए । बिचमा ताली पनि बजाउँथे । ट्रम्पलाई भान्स र डोनाल्ड्सतिर फर्केर भाषणहरूमाथि टिप्पणी गरेको देखियो ।
आइतबार, जब ट्रम्पले पेन्सिलभेनियाको बटलरमा रिपब्लिकन पार्टीको ¥यालीमा भाषण दिइरहेका थिए, उनीमाथि गोली चलाइएको थियो । गोली ट्रम्पको दाहिने कान छोएर गएको थियो । आक्रमणकारी म्याथ्यू थोमस क्रुक्सलाई प्रहरीले गोली हानेर मारेको थियो ।
















