सन्तोष पन्त, बेलौरी – कञ्चनपुरको बेलौरीको एक खानेपानी संस्थाले खानेपानी वितरण गरेको ३ महिना नबित्दै अशुद्ध खानेपानीको चर्को शुल्क असुलेको भन्दै स्थानीयले विरोध गरेका छन् । बेलौरी नगरपालिका –१० शिव नगर स्थित नि–विराद सहिद स्मृति खानेपानी संस्थाले खानेपानी वितरण गरेको ३ नबित्दै शुद्ध खानेपानी वितरण नगरेर चर्को शुल्क असुल गरिरहेको स्थानीयले बताएका छन् ।

खानेपानी संस्थाले यहीँ वैशाख १ गते देखि खानेपानी वितरण गरेको थियो । असार महिना नसकिँदै खानेपानीको चर्को शुल्क असुली रहेको बेलौरी नगरपालिका – १० शिव नगरका स्थानीय भोजराज जोशीले बताए ।
‘खाने पानीबाट शुद्ध पानी पाइरहेका छैनौ, वितरण गरेको ३ महिना भयो । संस्थाले खानेपानीको शुल्क पनि अन्य ठाउँ भन्दा चर्को लिइरहेको छ’ उनले भने ‘शुद्ध खानेपानी वितरण भइरहेको छैन, अशुद्ध खानेपानीको शुल्क कसरी तिर्ने, त्यो नि यति महँगो ।’
जोशीले सामाजिक सञ्जाल फेसबुकबाट पनि पानी शुद्ध नदिने खानेपानीको नाममा चर्को शुल्क लिने भन्दै यसको विरोध जनाएका छन् । उनले आफूलाई यस्तो लेख्दा डर धम्की आइरहेको बताए ।

त्यस्तै बेलौरी नगरपालिका –१० भुडाका गणेश पन्तले पानी त्यति राम्रो नभएको बताउँछन् । उनले पानी धमिलो आइरहेको बताए ।
बेलौरी नगरपालिका– १० का अध्यक्ष सोमलाल चौधरीले खाने पानीबाट अशुद्ध पानी आइरहेको र खानेपानीको महसुल धेरै रहेको गुनासो आफूलाई पनि आएको बताए । ‘वितरणको सुरुवाती चरण भएर समस्या आइरहेको हो,अशुद्ध खानेपानी वितरण नगरी शुद्ध खानेपानी वितरण गरी शुल्क पनि सर्वसुलभ गर्न समितिलाई भनेको छु । बाकी गर्ने काम समितिको हो’ अध्यक्ष चौधरीले भने ।
खानेपानी उपभोक्ता समूहका सचिव खगेन्द्र पण्डितले खाने पानीमा समस्या सामाजिक सञ्जालमा समस्या नराखी अफिसमा आएर समस्या राख्नुपर्ने बताए । ‘खाने पानीमा बोरिङमा समस्या भएर खानेपानी फोहोर आएको हो, अहिले त्यस्तो समस्या छैन’ सचिव पण्डितले भने ‘समस्या फेसबुकमा नराखी अफिस आएर राख्दा हुन्छ ।’
उनका अनुसार खानेपानी समूह सँग फिल्टर नहुँदा यो समस्या आएको हो । फिल्टरका लागि सङ्घीय खानेपानी सँग पहल भइरहेको उनले बताए ।
वैशाखमा ट्रायल खानेपानी वितरण गरेकोमा जेठदेखि शुल्क लगाएको सचिव खगेन्द्र पण्डितले बताए । ‘वैशाखमा ट्रायल वितरण गर्यौ ,जेठदेखि शुल्क लगाएका हौ’ उनले भने ‘जेठदेखि १० युनिटसम्म १५० र १० भन्दा माथि प्रति युनिट २० रुपैयाँ तोकेका छौ ।’
समूहले सुरुवाती चरणमा वडामा ४ सय धारा जडान गरेको छ । पण्डितका अनुसार ५ सय धारा जडान भए १० युनिटसम्म ११० र १० भन्दा माथि प्रति युनिट १५ रुपैयाँ तोक्ने निर्णय गरिएको छ ।


















