खाेज्नुहाेस

अत्तरियामा होटेल सञ्चालककै कारण अनैतिक क्रियाकलाप रोक्न समस्या

Image

अत्तरिया- मालाखेती प्रहरीले सोमबार (२८ गते) अत्तरियाका दुई होटेलबाट अनैतिक क्रियाकलाप गरे गराएको भन्दै होटेल सञ्चालकसहित ६ जनालाई पक्राउ गर्‍यो । कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया एक नम्बर गल्लीमा रहेको गुडिया होटेल र सोही वडाको तेघरीस्थित न्यू सोल्टी होटेलबाट सञ्चालकसहित ६ जना पक्राउ परेका थिए ।

प्रहरीले अत्तरियाका होटेलहरुबाट अनैतिक क्रियाकलाप गराएको भन्दै होटेल सञ्चालक र अनैतिक क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गरिरहे पनि यो क्रममा कमी आउन सकेको छैन । अत्तरियामा वैशाख र जेठ महिनाको हालसम्ममा होटेलमा हुने अनैतिक क्रियाकलापका २० जना पक्राउ परिसकेका छन् ।

add everest academy
attariya hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगाबहादुर थापाले १० जना पुरुष, ९ जना महिला र एक जना तेस्रोलिङ्गी गरी वैशाख र जेठको हालसम्ममा २० जना पक्राउ परिसकेका बताए । उनले गोदावरी क्षेत्रमा लागुऔषध र अनैतिक क्रियाकलापको समस्या बढी देखिएको बताए । विशेष गरी बसपार्क भएका ठाउँहरुमा यस किसिमका अनैतिक गतिविधिहरु हुने गरेको पाइएको उनी बताउँछन् । ‘जुनसुकै ठाउँको पनि बसपार्क हुने, सवारी साधनका स्टाफहरुको मुभमेन्ट हुने बसोबास हुने ठाउँहरुमा जहाँ पनि यो समस्या देखिन्छ’, उनले भने ।

navjiwan hospital

होटेल सञ्चालकहरुले नै यी क्रियाकलापमा बढावा दिइरहेको उनको भनाइ छ । ‘यहाँ मैले कस्तो पाएँ भन्दा एक खालको चाहीँ होटेल सञ्चालकहरुले कोही ग्राहकले डिमाण्ड गर्दा महिला बोलाइदिने’, उनले भने, ‘अनि अर्को कस्तो छ भन्दाखेरी होटेलको स्टाफको रुपमा काम गराउने, को हो भन्दा स्टाफ हो भन्ने अनि होटेलमा आएका ग्राहकका लागि पनि मिलाइदिने, त्यो बाहेक केटाकेटी (गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड) आएर पनि बस्ने गरेको पाइएको छ ।’

डिएसपी थापाले सम्बन्ध नखुलेका केटाकेटीहरुलाई होटेलमा नराख्न सञ्चालकहरुलाई पटक पटक आग्रह गर्दै आइरहेको बताए । यस्ता क्रियाकलापहरुको नियन्त्रणमा होटेल सञ्चालकहरुको नै विशेष भूमिका रहने उनी बताउँछन् । ‘सबैभन्दा पहिला होटेल व्यवसायीहरुले नै प्रत्येकको मन मनबाट मैले गलत मान्छे राख्दिन, गलत हर्कत गराउँदिन, नाता सम्बन्ध नखुलेका श्रीमान श्रमिती बाहेकलाई मैले राख्दिन भन्ने हरेकको मन मनबाट यो कुरा नआइकन नियन्त्रण गर्न चुनौती नै छ’, उनले भने ।

attariya technical collage

त्यसैगरी उक्त अवधिमा लागुऔषध खैरो हिरोइन १८ ग्राम ८४० मिलिग्राम, चरेश २१२ ग्राम बरामद र २५ जना पक्राउ गरिएका छन् । लागुऔषधमा पक्राउ पर्नेहरु १८ वर्ष उमेरदेखि ४२ वर्षको उमेर सम्मका रहेका डिएसपी थापा बताउँछन् । पक्राउ पर्नेहरुमा अधिकांश साथीसङ्गतकै कारणले लागुऔषधमा फसेको पाइने गरेको उनी बताउँछन् । ‘यसमा ९० प्रतिशत बढी लागुऔषध प्रयोगकर्ताहरु साथीको अनुरोधलाई नकार्न नसक्दा यसमा फसेको देखिन्छ’, उनले भने ।

लागुऔषध नियन्त्रणका लागि विक्री रोक्ने (सप्लाई कन्ट्रोल) र लागुऔषधको मागलाई कम गर्ने (डिमाण्ड डिडक्सन) गरी दुई तरिकाबाट आफूहरु अगाडि बढिरहेको उनले बताए । विक्री रोक्नका लागि कारोबारीहरुलाई पक्राउ गरी कारबाही गर्ने गरिएको र माग कम गर्न विद्यालयहरुमा गएर विद्यार्थीहरुलाई सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनले बताए ।