डडेल्धुरा – डडेल्धुरामा जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा एकजना पक्राउ परेका छन् । सोमबार भागेश्वर गाउँपालिका–४ आर्कुडाका ५६ वर्षीय कल्याण कामीलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा सोही ठाउँका ४२ वर्षीय लालसिंह भाट पक्राउ परेका हुन ।

भागेश्वर गाउँपालिका योजना शाखामा सव ओभरसियर रहेका कामीलाई भाटले शनिबार राति पटक–पटक फोन गरेर जातीय रूपमा गालीगलौज गरेका थिए । गालीगलौज गरेको उजुरीको आधारमा भाटलाई पक्राउ गरिएको जिप्रका डडेल्धुराका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

‘पक्राउ परेका भाटले पहिले पनि गालीगलौज गर्ने र भेदभावपूर्ण ढंगले नै बोल्ने रहेछन्,’ सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक थापाले भने, ‘अस्ति पनि गालीगलौज गरेछन् । हिजो ठाडो उजुरु दिएपछि हामीले भाटलाई पक्राउ गरेका हौँ । आज दिउँसो पीडित पक्षले जाहेरी दिनु भएको छ ।’
मंगलबार जिल्ला अदालत डडेल्धुराबाट ७ दिनको म्याद थप गराएर भाटमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए । जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐनले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेसा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरेमा तीन महिनादेखि तीन वर्ष कैद र ५० हजारदेखि दुई लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ ।















