खाेज्नुहाेस

घरका एक्ला छोरा थिए दोदामा ज्यान गुमाएका विजय, बुबा पनि १५ वर्षदेखि बेपत्ता

Image

अत्तरिया– गत शनिवार (२२ गते) कञ्चनपुरको दोदा नदीमा डुबेर दुई किशोरको मृत्यु भयो । चार जनाको समूहमा गएका उनीहरुमध्ये नदीमा नुहाउने क्रममा दुई जनाको ज्यानै गयो भने दुई जना बाँच्न सफल भए ।

बेलौरी नगरपालिका–४ शान्तिपुरका १७ वर्षीय विजय कुँवर र राजेन्द्र कुँवरको नदीमा डुबेर मृत्यु भएको थियो । सँगै नुहाउन गएका सोही ठाउँका शिशिर विष्ट घाइते भएर उपचाररत रहेकामा अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनीहरु सँगैका समीर सुवेदी भने नदीमा गएका थिएनन् । मृतक राजेन्द्रका जेठा बुवा कृष्णबहादुर कँुवरले बिहान कम्प्युटर सिक्न भनेर गएका उनीहरु त्यहीँबाट खरबुजा खान भनेर गइसकेपछि घटना हुन पुगेको बताउँछन् ।

add everest academy
attariya hospital

‘बिहान कम्प्युटर सिक्न भनेर गए, त्यहाँबाट चारै जना तर्भुज (खरबुजा) खान भनेर दोदा नदीतिर गएछन्, त्यहाँ गइसकेपछि समीरले कपाल स्टेट गरेको भएर पानीमा जाँदैन भनेर गएनछ, अरु दुई जनाले सुरुमा एकैचोटी हाम फालेछन् र गहिरो खाल्डोमा परेछन्, शिशिरले अलि वरै हाम फालेछ’, उनी भन्छन्, ‘उ दुई जना नदीमा भएको झण्डै २० फिट गहिरो खाल्डोमा परेछन्, शिशिरले डुबेडुबे भन्ने बेला समीरले अलिअलि तानेछ, अनि त्यहाँ रहेका राना समुदायका मान्छेहरु काँक्रा तर्भुज बेचिरहेकाहरुले उसको आवाज सुनेछन् र बाहिर निकालेछन् ।’

navjiwan hospital

मृतक विजय परिवारका एक्ला छोरा हुन् । उनका तीन दिदी छन् । विजयले यसै वर्ष एसईई दिएका थिए । विजयका बुबा पनि १५ वर्ष अघिबाट बेपत्ता छन् । उनी कहाँ छन्, कस्ता छन्, जीवित छन् वा छैनन् भन्ने पनि पत्तो छैन । विजयकी माइली दिदी पुष्पाले त्यो दिन भाइ कम्प्युटर सिक्ने अनि कपाल काट्ने भन्दै घरबाट निस्केको बताइन् ।

‘भाइले हामीलाई कपाल पनि काटेर आउँछुँ, कम्प्युटर क्लास पनि जान्छुँ भनेर गएको थियो, त्यसरी नदी जान्छ भन्ने थाहा पाएको भए त हामी जानै दिन्थेनौँ’, उनले भनिन्, ‘नदी पनि कुन बाटो पो भएर गएछन्, यो बाटोबाट गएका भए त देखिहाल्थ्यौँ हाम्ले, जान दिन्थेनौँ, रोक्थ्यौँ ।’ बुबा पनि १५ वर्ष अगाडि बेपत्ता भएका उनी बताउँछिन् । ‘१५ वर्षभन्दा बढी नै भयो होला बुवा बेपत्ता हुनुभएको पनि, कहाँ गए, किन गए, केही थाहै पाएनौँ हामीले’, उनले भनिन् । प्रहरीमा खबर गरेर पनि आफ्ना बुबालाई कतै फेला पार्न नसकिएको उनी बताउँछिन् ।

attariya technical collage

श्रीमान हराएको पीडा सहेर बसेकी विजयकी आमा शारदादेवी कुँवरलाई अहिले अर्को ठुलो बज्रपात परेको छ । आफूहरुसँग बस्नलाई जमिन समेत नभएपछि माइतीले घर बनाउनका लागि दिएको सानो जमिनमा छोराछोरी राखेर गुजारा चलाइरहेकी उनीमाथि अहिले असह्य पीडा थपिएको छ ।

भिडियो