अत्तरिया – सुदूरपश्चिममा चैतयता ८३ वटा आगलागीका घटना भएका छन् । प्रदेशभर चैत १ गते देखि बैशाख ६ गते सम्म ८३ ओटा आगलागीका घटना भएका हुन । यो अवधिमा आगलागीमा परी तीन जनाको मृत्यु भएको प्रदेश प्रहरीको तथ्याङ्क छ । चैत महिनामा मात्रै आगलागीबाट १६ ओटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने १२ घरमा आंशिक र ५४ घरमा सामान्य क्षति पुगेको छ । यी घटनामा डोटीमा एक जनाको मृत्यु समेत भएको छ ।
चैतमै आगलागीमा परी कञ्चनपुरका दुई र अछामका एक गरी तीन जना जलेर घाइते भएका छन् । वैशाखमा आगलागीबाट अछामका दुई बालबालिकाको ज्यान गएको छ । आगलागीबाट मानवीय क्षतिका साथै चौपाया क्षति पनि भएको छ । उक्त अवधिमा प्रदेशभर भएका आगलागीका घटनामा १८ चौपाया मरेका छन् । प्रदेश प्रहरीको तथ्याङ्क अनुसार आगलागीबाट एक करोड २६ लाख ६४ हजार ५०० रुपैयाँ बराबरको क्षति हुन पुगेको छ । बिहीवार (वैशाख ६ गते) मात्रै पनि कञ्चनपुरको दोधारा चाँदनीमा करिब १० बिघा जमिनमा लगाइएको गहुँमा आगालागी भएको थियो ।


आगलागीका घटना बढ्दै गएपछि प्रहरीले प्रदेशभर आगलागी न्यूनीकरणका लागि जनचेतनाका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । प्रहरीले गाउँबस्ती तथा टोलमै पुगेर आगलागी न्यूनीकरण सम्बन्धी जनचेतनाका कार्यक्रम गरिरहेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले आगलागीले धनजनको क्षति भइरहेकाले समुदायस्तरमा जनचेतना फैलाउने कार्य भइरहेको बताए । ‘विभिन्न ठाउँहरुमा आगलागीबाट क्षति भइरहेको छ, धनजनको पनि क्षति भएको छ, हामी एक्लैले आगलागी न्यूनीकरण गर्न सकिँदैन, समुदाय पनि सँगसँगै जानुपर्छ भन्ने हाम्रो धारणा हो’, उनले भने ।
उनले समुदाय र प्रहरी बिचको सहकार्यले आगलागीका घटनामा कमी आउन सक्ने बताए । ‘समुदायसँग साझेदारी गरेर जनचेतना फैलाउन सकियो भनेदेखि क्षतिबाट जोगाउन सकिन्छ भन्ने हाम्लाई लागेर यसलाई अभियानका रुपमा सञ्चालन गरेका हौँ’, उनले भने । उनले समुदायमा गएर अन्तरक्रिया, छलफलका माध्यमबाट जनचेतना फैलाउने कार्य भइरहेको बताए । आगलागी हुन सक्ने सम्भावित कारणहरु, आगलागी हुन नदिन अपनाउन सकिने उपाय र आगलागी भइहाले कसरी जोगिने भन्ने लगायतका विषयमा जनचेतना फैलाउने कार्य भइरहेको उनले बताए ।

‘समुदायमा गएर अन्तरक्रिया गरिराछौँ, आगलागी हुन कसरी नदिने, भइहाल्यो भने कसरी जोगिने भन्ने कुराहरुको सन्दर्भमा हामीसँग केही प्रशिक्षित जनशक्तिहरु पनि छन्’, उनले भने, ‘ती कुराहरुको प्रसार गर्नको लागि हामी समुदायमा गइरहेका छौँ ।’ उनले समुदायस्तरमा आगलागी सम्बन्धी जनचेतना फैलाउने, प्रशिक्षण गर्ने कार्यहरु गरिरहँदा त्यसमा सहभागी हरेक व्यक्ति आफूमा नै एउटा प्रशिक्षक बन्न सक्छ भन्ने आफूहरुको अवधारण रहेको बताए । उनले जनचेतना कार्यक्रममार्फत सावधानीका उपाय, बच्ने र उद्धार कसरी गर्ने भन्ने जस्ता कुरामा सचेत गराउने प्रयास भइरहेको बताए ।
प्रदेश प्रहरी प्रमुख केसीले जनचेतना फैलाउने कार्य प्रभावकारी रहने दाबी समेत गरे । ‘निश्चित रुपमा यो त प्रभावकारी हुन्छ, सबैभन्दा ठुलो कुरा चाइँ हामीले समुदायलाई कसरी यसमा अगाडि बढाउन सक्छौँ, समुदायले हामीलाई कसरी साथ दिनुहुन्छ, त्यस कुरामा निर्भर पर्छ’, उनी भन्छन्, ‘हाम्रा अन्य कार्यक्रमहरुमा जसरी समुदायले हामीलाई उत्साहजनक रुपमा सहयोग गरिरहनुभाको छ, त्यो हेर्दाखेरी अन्य कार्यक्रमहरु जस्तै यो कार्यक्रम पनि सफल हुन्छ भन्ने विश्वास लिएका छौँ ।’ उनले अहिलेसम्म सञ्चालित कार्यक्रमहरुबारे समुदायबाट राम्रो पृष्ठपोषण पाइएको पनि बताए ।
















