अत्तरिया– कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी छन् । कैदीबन्दीको संख्या क्षमताभन्दा एकदमै धेरै हुँदा व्यवस्थापनमा पनि समस्या भएको छ । १६० जना क्षमताको सो कारागारमा अहिले ५५४ जना कैदीबन्दी राखिएका छन् । जसमा २३ जना महिला छन् भने बाँकी सबै पुरुष छन् ।
कञ्चनपुर कारागारकी कारागार प्रशासक माया कुमारी बस्नेत थापाले जसोतसो कैदीबन्दीहरुको व्यवस्थापन गरिएको बताइन् । ‘अधिराज्यभरि नै यस्तै समस्या छ, यहाँको मात्र होइन, म्यानेज गरिएको छ’, उनले भनिन् । उनले कारागारको ग्यालरीदेखि लिएर भान्साबाहेक सबैतिर कैन्दीबन्दी राख्ने गरिएको बताइन् ।



‘ग्यालरीदेखि लिएर सबै ठाउँ सुताउँछौँ, बाहिर सुत्ने पनि छन्, भित्रका कुनै कुना खाली छैनन्’, उनले भनिन्, ‘भान्सामा आगो, दाउराहरु हुन्छ, त्यहाँ सुताउँदैनौँ, त्याँ बाहेक कतै खाली छैन ।’ उनका अनुसार भान्सामा ज्वलनशील बस्तुहरु हुने हुँदा कैदीबन्दीलाई त्यहाँ सुताउने गरिएको छैन । कारागारमा कतै कुनै ठाउँ नछोडी कैदीबन्दी राख्नुपर्ने अवस्था रहेको भएपनि यसमा सरोकारवालाले ध्यान नदिएको उनले गुनासो गरिन् । ‘गर्मी आइराखेको छ, बढ्दै गइराछ, अब त झनै समस्या हुन्छ’, उनले भनिन्, ‘यसमा सरकारले सहयोग गर्नुपर्ने, कहीँबाट केही छैन ।’
कञ्चनपुर कारागारसँग पाँच बिघा जमिन छ । तर व्यवस्थापनमा ध्यान नदिइँदा उक्त जमिन उपभोग गर्न सकिएको छैन । ‘छँदा त पाँच बिघा जमिन छ कारागारको, त्यत्तिकै खेर गइराखेको छ त्यो जमिन’, उनी भन्छिन्, ‘गाई, भैँसी, बाख्रा चराउने ठाउँ बनेको छ ।’ ढल निकासको उचित व्यवस्थापन नहुँदा सो जमिनमा पानी जमेको उनी बताउँछिन् । ‘ढल निकास पनि छैन, ढल निकास नभएरै जमिन खल्ला भइसक्यो’, कारागार प्रशासक थापाले भनिन् ।
उनले कारागारको जमिन त्यत्तिकै बाँझो छोडिएको बताइन् । जमिनलाई उपभोगमा ल्याउने हो भने त्यही जमिनबाट तरकारी उब्जाएर बाहिर बेच्न समेत सकिने उनी बताउँछिन् । उनले तरकारी खानका लागि मात्रै नभई बेचेर आर्थिक उपार्जन समेत गर्न सकिने बताइन् ।

‘पाँच बिघा जमिन भनेको धेरै हो, तरकारीखेती गर्ने हो भने कति धेरै फलाउन सकिन्छ, खानलाई मात्रै होइन बाहिर बेच्नलाई पनि हुन्थ्यो’, उनले भनिन् । प्रशस्त जमिन भएपनि त्यसको सदुपयोग नहुँदा आर्थिक उपार्जन त परकै कुरा कैदीबन्दीलाई बस्नका लागि मात्रै पनि समस्या भएको उनी बताउँछिन् ।















