अत्तरिया- डोटीमा सुदूरपश्चिमका पत्रकार महिलाका लागि संवाद सभाको आयोजना गरियो । यही फागुन १५ र १६ गते दिपायलमा पत्रकार महिलाको नेतृत्व क्षमता विकासका लागि संवाद सभाको आयोजना गरिएको थियो ।
नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको सो कार्यक्रममा प्रदेशभरका ६० जना पत्रकार महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महिलाले भोग्नुपरेका समस्या, पेसाका चुनौती, अवसर तथा अपेक्षा लगायतका विषयमा छलफल गरिएको थियो ।


सहभागी अधिकांश पत्रकार महिलाले आर्थिक समस्या नै पेसामा टिकिरहन चुनौती बनेको बताएका थिए । कार्यरत सञ्चार संस्थाले पारिश्रमिक नै नदिनु आफूहरुको मुख्य समस्या रहेको उनीहरुले बताएका थिए । उचित पारिश्रमिक नपाउनु, दिने भनिएको पारिश्रमिक पनि समयमा नपाउनु, बाहिर फिल्डमा पुरुषहरुलाई मात्र पठाउनु, समाजले विभिन्न लाञ्छना लगाउँदै हेर्ने नजर, कार्यालयभित्र हुने यौन दुर्व्यवहार जस्ता समस्याहरु आफूहरुले भोगिरहेको उनीहरुले बताएका थिए ।

सहभागी पत्रकार महिलाले काम गरेको डेढ वर्षसम्ममा जम्माजम्मी १० हजार रुपैयाँ जति मात्र तलबका रुपमा पाएको, भोकभोकै बसेर काम गर्दा पनि कुनै मूल्याङ्कन नै नगरिएको, लेखेर पोस्ट गरिसकेको समाचार हटाउनुपरेको, पुरुष पत्रकारका तुलनामा एकदमै कम पारिश्रमिक दिने गरिएको, पारिश्रमिक नै नपाउँदा काम नै छोड्नुपरेको जस्ता दुःखेसो सुनाएका थिए । सञ्चार संस्था गैरजिम्मेवार बन्दा आफूहरुलाई यो पेसामा टिकाइरहन गाह्रो भएको उनीहरुले सुनाएका थिए । महासंघले पनि यो विषमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको गुनासो गरिएको थियो ।
पत्रकार महिलाहरुले महासंघले आफूहरुले न्यूनतम पारिश्रमिक पाए/नपाएकोबारे अनुगमन गरी दवाव सृजना गरिदिए सहज हुने अपेक्षा राखेका थिए । पत्रकारिता पेसामा लागिरहँदा चुनौतीसँगै विभिन्न अवसरहरु मिलिरहेका भएपनि समस्याहरु हावि हुँदा असहज स्थितिको सामना गरिरहनुपरेको बताएका थिए । समाजमा छुट्टै पहिचान र आफ्नो परिचय बनाउन सकिएको, आवाजविहीनहरुको आवाज बन्न सकेको, अरुका समस्यालाई सम्बन्धित ठाउँसम्म पुगाउने माध्यम बन्न सकेको भएपनि महिला भएकै कारण भोग्नु परिरहेका समस्याले पेसामा टिकिरहन असहज भएको उनीहरुले सुनाएका थिए । सञ्चार माध्यमहरुमा समय व्यवस्थापनका साथै बिदाको व्यवस्था नहुँदा झनै असहज हुने गरेको बताइएको थियो ।

महासंघका प्रदेश अध्यक्ष योगेश रावलले पत्रकार महिलाहरुका समस्या सुन्न र त्यसमा प्रभावकारी भूमिका निर्वाह गरी समस्या समाधानमा केन्द्रित हुनकै लागि कार्यक्रमको आयोजना गरिएको बताए । उनले पत्रकार महिलाले भोग्नुपरेका हरेक समस्या समाधानमा सम्भव भएसम्म महासंघ पछाडि नहट्ने बताए ।
कार्यक्रममा पत्रकार महिलाको समग्र पक्षको विकासका लागि गर्न आवश्यक व्यवस्थाहरु दर्शाउँदै कार्यपत्र प्रस्तुत गरिएको थियो । जसमा लैङ्गिक वा समान अवसरको नीति, लैङ्गिक सर्वेक्षण, सकारात्मक रोजगारी रणनीति, कार्यस्थलमा पारिवारिक वातावरण, यौन दुर्व्यवहारप्रति कडा नीति, आचारसंहितामा लैङ्गिक संवेदनशीलता र मिडियामा लैङ्गिक नजरको परीक्षणको व्यवस्था गरिनुपर्ने कुराहरु उल्लेख गरिएको छ ।
संवाद सभाका लागि डोटीको दिपायल पुगेका पत्रकार महिलाहरुलाई नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीले खादासहित स्वागत पनि गरेको थियो ।
















