काठमाडौँ – नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८ औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो ।
१८० देशमध्ये नेपाल यो स्थानमा पुगेको हो । २०२२ मा नेपाल ३४ अंकसहित १०० औँ स्थानमा थियो ।



सूचकांकमा यस वर्षको औसत अंक ४३ रहेको छ । एसिया प्रशान्त क्षेत्रको औसत स्कोर ४५ रहेको छ । विश्वका दुई तिहाई मुलुकले ५० भन्दा कम अंक पाएका छन् । यसले ती देशमा भ्रष्टाचार गम्भीर समस्याको रूपमा रहेको उल्लेख गरिएको छ ।
गत वर्षको तुलनामा नेपालको अंकमा यस वर्ष केही सुधार भए तापनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमै यस वर्ष पनि नेपाल कायमै रहेको छ ।
सीपीआई २०२३ मा दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक (२६औँ), भारतले ३९ (९३औँ) माल्दिभ्सले ३९ अंक (९३ औँ), श्रीलंकाले ३४ अंक (११५ औँ), पाकिस्तानले २९ अंक (१३३ औँ), बंगलादेशले २४ अंक (१४९ औँ) र अफगानिस्तानले २० अंक (१६२ औँ) प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४२ अंक (७६ औँ) प्राप्त गरेको छ ।















