डडेल्धुरा- डडेल्धुराको परशुराम नगरपालिकाले विद्यार्थीहरुलाई बिनाब्याज कर्जा दिने भएको छ । एसईई वा सोभन्दा माथिको शैक्षिक तहलाई प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि नगरपालिकाले बिनाब्याज ५ लाख रुपैयाँ कर्जा दिने भएको हो ।
नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने जेहेनदार तथा विपन्न विद्यार्थीलाई एसईई परीक्षाको प्रमाणपत्र धितो राखेपछि उच्च शिक्षा अध्ययन गर्न पाँच लाखसम्म कर्जा उपलब्ध गराइने नगरप्रमुख भरत बडायर जोशीले बताए । स्वदेशमै उच्च शिक्षा अध्ययनमा सुविधा दिन नगरपालिकाको १४औं नगरसभाबाट ऐन समेत पारित भएको उनले बताए ।

कर्जा लिन विद्यार्थीले अध्ययन गर्ने शैक्षिक संस्था नेपाल सरकारको स्वीकृति प्राप्त वा नेपाल सरकारबाट मान्यता प्राप्त हुनुपर्ने छ । यस्तो ऋण एक परिवारको एक जनाले मात्रै पाउने व्यवस्था गरिएको छ । कर्जा रकम विद्यार्थीले अध्ययन गरिरहेको शैक्षिक संस्थाको खातामा जम्मा गरिने बताइएको छ ।



















