अत्तरिया – डोटीको आदर्श गाउँपालिकाले चालु आर्थिक वर्षको ६ महिनासम्म पुँजीगत भन्दा इन्धनमा बढी खर्च गरेको छ । पालिकाले ६ महिनाको अवधीमा पुँजीगत तर्फ १० लाख २३ हजार ४५६ रुपैयाँ मात्रै खर्च गर्दा इन्धनमा भने १२ लाख ४ हजार रुपैयाँ खर्च गरेको हो । पालिकाले चालु आर्थिक वर्षमा पुँजीगत तर्फ ९ करोड ७६ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चालु आर्थिक वर्षको बीच अवधीसम्म पालिकाले विनियोजित खर्चको १ प्रतिशतको हाराहारीमा मात्रै खर्च गरेको छ ।
योजनाहरूको सम्झौता र निर्माण कार्यमा ढिलाई हुँदा पुँजीगत तर्फको बजेट खर्च हुन नसकेको पालिकाका लेखापाल विजयराज जोशीले बताए । उनले चालु आर्थिक वर्षमा ठेक्का पट्टाको काम सम्झौता भएर भरखर सञ्चालन भैरहेकाले खर्च नदेखिएको बताए ।


‘हाम्रा योजनाको भरखर सम्झौता भएर कामहरू सुरु भैरहेका छन्, त्यसको भुक्तानी भएको छैन’ उनले भने ‘सम्झौता भएर काम भइसकेका उपभोक्ता समितिबाट पनि भुक्तानीको लागि कोही आउनुभएको छैन ।’ उनले प्रथम र दोस्रो त्रैमासिकमा सम्पन्न हुने गरी छुट्याइएका योजनाहरूको पनि सम्झौतामा केही ढिलाई भएका कारण काम हुन नसकेको बताए । उनले योजना र ठूला टेन्डरको काम सुचारु भैसके पनि भुक्तानी हुन भने नसकेको बताए । ‘योजनाहरूको ठेक्का प्रकृयामा केही ढिलाई हुँदा योजनाहरू ढिलो गरी सञ्चालन भए, उपभोक्ता समिति मार्फत भएका केही योजनाहरूका पनि काम भैरहेका छन’ उनले भने ‘अहिले सम्म योजनाको भुक्तानीको लागि कोही आउनुभएको छैन, भुक्तानी लिन नआउँदा सम्म भुक्तानी दिने कुरा पनि भएन ।’

प्रत्येक पालिकाहरूले पालिकाका विभिन्न योजनाहरूलाई एक आर्थिक वर्षको ४ चरणमा छुट्याउने गर्दछन् । पहिलो, दोस्रो, तेस्रो र अन्तिम त्रैमासिकमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई शीर्षकको छुट्याउने र सोही अवधीमा भुक्तानी दिने काम पालिकाहरूले गर्ने गरेका छन । तर आदर्शले भने दोस्रो त्रैमासिकका योजनाहरूको समेत भुक्तानी गरिसक्नुपर्ने समयमा पहिलो त्रैमासिकको बजेट समेत भुक्तानी नगरेको देखिएको छ । पालिकामा योजनाहरूको निर्माण कार्य नसकिएकाले भुक्तानी नभएको लेखापाल जोशीले बताए ।
पुँजीगत खर्च भन्दा बरु पालिकाले इन्धन खर्चमा बढी प्राथमिकता दिएको देखिएको छ । आर्थिक वर्षको ६ महिना बित्नै लाग्दा पूँजीगत तर्फ गरेको खर्च भन्दा पालिकाले इन्धनमा करिब २ लाख रुपैयाँ बढी खर्च गरेको छ । पालिकामा विकास निर्माणका योजनाहरूको बजेट खर्च नदेखिँदा इन्धनमा मात्रै त्यत्रो रकम कसरी खर्च भयो भन्ने प्रश्न उठ्न थालेको छ । पूँजीगत खर्च एकदमै न्यून हुँदा चालु तर्फ भने पालिकाले करिब ७ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

चालु तर्फ पालिकाले ३५ करोड ६० लाख ७४ हजार ५ सय रुपैयाँ विनियोजन गरेको थियो । जसमध्ये चालु आर्थिक वर्षको पुष २३ गतेसम्म पालिकाले ६ करोड ९० लाख ४७ हजार ३३५ रुपैयाँ खर्च गरेको छ । चालु तर्फ विनियोजित बजेटको करिब २० प्रतिशत रकम पालिकाले खर्च गरिसकेको छ । चालु तर्फ पालिकामा कार्यरत शिक्षक तथा अन्य कर्मचारीहरूको पारिश्रमिकको रकम समेत भएकाले बढी खर्च देखिएको पालिकाका लेखापाल जोशीले बताए ।
उनले पालिकाले विनियोजित गरेको चालु तर्फको कुल बजेटमा करिब २३ करोड रुपैयाँ कर्मचारीहरूको पारिश्रमिकका लागि मात्रै भएको बताए । पालिकाले चालु आर्थिक वर्षको ६ महिनाको अवधीसम्म खाजानास्ता पनि ४ लाख बढी रकम खर्च गरिसकेको छ । चालु आर्थिक वर्षको पुष २३ गतेसम्म पालिकाले ४ लाख ४४ हजार रुपैयाँ खाजा नास्तामा खर्च गरेको हो ।
















