खाेज्नुहाेस

भारतमा दुर्घटनामा परेर घाइते भएका बैतडीका प्रेम कोलीको निधन

Image

बैतडी – भारतमा गाडीको ठक्करबाट घाइते भएका बैतडीका प्रेम कोलीको उपचारका क्रममा निधन भएको छ । लोक देउडा गायक समेत रहेका पाटन नगरपालिका–३ गुजर घर भएका कोली रोजगारीको सिलसिलामा परिवारसहित भारतको गोविन्दगढमा बस्दै आएका थिए ।

गोविन्दगढमै फलफूल पसल सञ्चालन गर्दै आएका कोलीलाई कार्तिक २२ गते लक्ष्मी पूजाका दिन अज्ञात गाडीले ठक्कर दिएको थियो । पसलको काम सकेर स्कुटरमा कोठा फर्कदै गरेका कोलीलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए ।

attariya hospital
navjiwan hospital

भारतको गोविन्दगढस्थित राजेन्द्र अस्पतालमा उपचार गराइरहेका कोलीको शुक्रबार राति उपचारकै क्रममा निधन भएको उनका दाजु रमेश कोलीले बताए । अन्दाजी ४३ बर्षीय कोलीको अल्पायुमै निधन भएपछि परिवारमा ब्रजपात परेको छ ।

मृतक कोलीका चारजना छोराछोरी र श्रीमती रहेका छन् । भारतमै रोजगारी गरेर घरपरिवार चलाउँदै आएका कोलीको निधन भएपछि उनको परिवार विचल्लीमा परेको छ ।

कोली घाइते भएकै समयदेखि उनको उपचारका लागि सहयोग अभियान सञ्चालन गरिएको थियो । उनको निधन भएपछि आश्रित परिवारको सहयोगका लागि अभियानलाई निरन्तरता दिइएको छ ।