अत्तरिया- कैलालीमा ६० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा १८ हजार क्विन्टल मात्रै धान खरिद भएको छ । धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत कार्तिक १९ गतेबाट धान खरिद सुरु गरेकोमा अहिलेसम्म १८ हजार ६ सय ५२ क्विन्टल मात्र धान खरिद भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीकी प्रादेशिक प्रमुख इञ्जिला बस्नेतले कैलालीमा खोलिएका ५ ओटा खरिद केन्द्रबाट उक्त परिमाणमा धान खरिद भएको बताइन् । ‘कैलालीमा धनगढीको मोहनपुर, टीकापुर, सत्ती, भजनी, बर्दगोरिया गरेर पाँच ठाउँमा खरिद केन्द्र खोल्दाखेरी चैँ जम्मा त्यै १८ हजार ६ सय ५२ क्विन्टल धान खरिद भाको हो’, उनले भनिन् ।



उनले बाहिर बजारमा धानको मूल्य बढेको जानकारीमा आएकाले त्यही कारण लक्ष्य भेट्टाउन नसकिएको बताइन् । ‘धानको मूल्य बढेको भन्ने आयो, मौखिक रुपमा जानकारी चैँ’, उनले भनिन्, ‘नभए त हाम्ले त टाइममा खोलेको हो ।’ बाहिर बजारमा मूल्य बढ्दा किसानहरु खरिद केन्द्र नआएका हुनसक्ने अनुमान गरिएको छ ।
उनले गत वर्ष भने मंसिर २८ गतेबाट धान खरिद सुरु गर्दा पनि ३० हजार क्विन्टल खरिद भएको बताइन् । ‘गत वर्ष ४० हजार क्विन्टल धान खरिदको लक्ष्य लिइएकोमा ३० हजार क्विन्टल धान खरिद भएको थियो । अहिले कार्तिकमै सुरु गरिएको धान खरिद पोहोर मंसिर सक्किनै लाग्दा सुरु भएको थियो’, उनले भनिन् । यो वर्षभन्दा गत वर्ष भने बढी धान खरिद भएको हो । यद्यपी लक्ष्य भने गत वर्ष पनि भेट्टाउन सकिएको थिएन ।
सरकारले मोटा धानको मूल्य ३ हजार १ सय ९८ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो । कैलालीमा मोटा धान नै खरिद भएको हो । प्रादेशिक प्रमुख बस्नेतका अनुसार एकजना किसानबाट ३० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद सुरु गरिएकोमा जिल्लाका ६ हजार २ सय किसानको धान खरिद गरिएको छ । खरिद केन्द्रहरु खुला नै रहेकाले अझै पनि किसानहरुले धान ल्याएर आए खरिद गरिने उनले बताइन् ।

















