अत्तरिया – महिलाहरुलाई आत्मनिर्भर बनाई उनिहरुको जिविकोपार्जनमा सहजता ल्याउने उद्देश्यले स्थापित कैलालीको गोदावरी नगरपालिका – ८ मा रहेको सृजनशिल महिला विकास बहुउद्देश्यिय सहकारी संस्थाले संकलन केन्द्र र डेरी सञ्चालनमा ध्यान दिन थालेको छ । महिलाहरु बढी आत्मनिर्भर बन्ने बाटो रहेको गाई तथा भैसी पालन व्यवसाय र तरकारी खेतीलाई ध्यानमा राखि सहकारीले संकलन केन्द्र र डेरीको अवधारणामा काम गरिरहेको हो ।
महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि उनिहरुको आयआर्जनमा वृद्धि गर्न आवश्यक रहेको सहकारीकी अध्यक्ष भावना खड्काले बताईन । उनले त्यसकै लागि महिलाहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुको उचित मुल्य दिन र बजारीकरण गर्न सहकारीमार्फत संकलन केन्द्रको धारणा अघि बढेको बताईन । उनले त्यसका साथै पशुपालन गर्ने महिला सदस्यहरुको सहजताका लागि डेरी पनि सञ्चालन गर्ने लक्ष्य अगाडी बढाईएको बताईन ।


‘महिलाहरु आत्मनिर्भर बन्ने बाटो भनेको कृषि र पशुपालन हो, त्यसमा पनि बजारको अभाव र दुरदराजका बस्तीहरु भएकाले हाम्रा सदस्यहरुले समस्या खेप्नुपरिरहेको छ’ उनले भनिन् ‘सदस्यहरुको त्यस्तो समस्याको निराकरणका लागि हामीले संकलन केन्द्र र डेरीको अवधारणा अगाडी ल्याएका हौ, आगामी वर्षमा त्यो कार्यलाई कसरी पुर्ति गर्न सकिन्छ भन्ने तिर हाम्रो फोकस छ ।’ उनले सहकारीले त्यसका अलावा अन्य विभिन्न क्षेत्रमा काम गरिरहेको बताईन ।
४५ जना महिला सदस्यहरुले प्रतिव्यक्ति रु. १ सयका दरले शेयर संकलन गरी जम्मा ४ हजार ५ सय शेयरपुजिँबाट सञ्चालीत सहकारीले पछिल्लो समय महिला सदस्यहरुको जिविकोपार्जन र आत्मनिर्भरका क्षेत्रमा काम गरिरहेको छ । सहकारीले आर्थिक वर्ष २०७९/०८० मा मात्रै सदस्यहरुले उत्पादन गरेको तोरी संकलन गरी त्यसबाट निकालिएको तेल शेयरसदस्यहरुलाई प्रदान गर्ने काम गरेको छ ।

त्यसका साथै सहकारीले आफैले हल्दी खेती गरिरहेको छ । जग्गा भाडामा लिएर सहकारीले हल्दी खेती गर्ने काम गर्दै आईरहेको संस्थाकी अध्यक्ष खड्काले बताईन । उनले आगामी दिनमा हल्दी खेतीलाई करिब ६ विगाहामा फैलाउने योजना रहेको बताईन । सहकारीले निम्न वर्गका महिला सदस्यहरुमा लगानी गरी उनिहरुलाई आत्मनिर्भर बनाउन मद्दत गरिरहेको छ । सहकारीमा आवद्ध करिब ६० प्रतिशत भन्दा बढी महिलाहरु आत्मनिर्भर बनेको अध्यक्ष खड्काले बताईन ।

‘सहकारीले न्यून आम्दानी भएका महिलाहरुलाई ऋण प्रदान गरी उनिहरुलाई आयआर्जन गर्न सक्ने बनाएको छ’ उनले भनिन् ‘त्यस्ता सदस्यहरुलाई हामीले उत्प्रेरित गर्नका लागि सम्मानित पनि गर्ने गरेका छौ ।’ सहकारीले नगरका दुरदराजका क्षेत्रमा रहेका महिलाहरुलाई सेवा दिईरहेको उनले बताईन । ‘हाम्रो सहकारीको कार्यक्षेत्र गोदावरी नगरभरी नै छ’ उनले भनिन् ‘नगरकै एकदम दुरदराजमा रहेको चाप, सल्ली, नायल तथा सेहरी र धनचौरीमा पनि सहकारीले महिलाहरुका समुह बनाएर सेवा दिईरहेको छ ।’
उनले सहकारीलाई एउटा प्रशासनिक भवनको आवश्यकता भएकाले त्यसका लागि पहल थालिरहेको बताईन । ‘महिलाहरुको सानो सानो रकमबाट उत्पन्न सहकारीले वृहत रुप लिएकाले यसलाई व्यवस्थीत गर्न भवन आवश्यक छ’ उनले भनिन् ‘सहकारीको भवन निर्माणका लागि हामी स्थानिय एवम् प्रदेश सरकारसँग सहयोग मागिरहेका छौ ।’
सहकारीले पछिल्लो वर्षमा महिलाहरुका लागि निःशूल्क प्रजनन् स्वास्थ्य शिविर, वित्तिय साक्षरता तालिम, सुत्केरी सदस्यहरुलाई सुत्केरी पोषण खर्च, सदस्य र सदस्यका श्रीमानको मृत्युमा मृत्यु राहत खर्च, सदस्यहरुलाई रासायनिक तथा जैविक मल उपलब्ध गराउने लगायतका कामहरु गरेको छ । जसबाट प्रत्यक्ष रुपमा सहकारीमा आवद्ध सम्पुर्ण शेयरसदस्यहरुले फाईदा लिएको सहकारीकी व्यवस्थापक गौरी चौधरीले बताईन ।
उनले सहकारीले महिलाहरुको आर्थिक स्तरोन्नती र आत्मनिर्भरतालाई आफ्नो मुख्य लक्ष्य बनाएको बताईन । आगामी वर्षहरुमा पनि महिला सदस्यहरुको जिविकोपार्जन र उनिहरुलाई आत्मनिर्भर बनाउने योजनातिर संस्था लक्षित रहने उनले बताईन ।
 
					 
 





 
 
 





 
 







