अत्तरिया – कैलालीमा किशोर किशोरीका लागि क्वालिटी एजुकेशन नभएको गुनासो गरिएको छ । जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियामा आयोजित एक छलफलमा किशोर किशोरीका लागि जीवनोपयोगी एवं रोजगारमूलक शिक्षा नभएको गुनासो गरिएको हो ।
आइतबार यार्डले सरोकारबालासँग राइट हेयर राइट नाउ परियोजना अन्तर्गत स्थानीय सरकारको नीति कार्यक्रम र बजेटमा यौन तथा प्रजनन् स्वास्थ्य र बृहत यौनिकता शिक्षा विषयक अन्तक्र्रियाको आयोजना गरेको हो । कैलालीको गोदावरी नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिकाका सरोकारवालाहरुसँग भएको अन्तक्र्रियाका क्रममा गोदावरी र कृष्णपुरसहित धनगढी उपमहानगरपालिकाले यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय कार्य गर्न नसकेको बताइएको हो ।


तीन ओटै पालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्यलाई समेटेको भएपनि कार्यान्वयनमा भने फितलो पाइएको बताइएको छ । गोदावरी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा एक विद्यालय एक नर्स कार्यक्रमको सुरुवात गर्ने, किशोरीहरुको शारीरिक, मानशिक स्वास्थ्य तथा आत्मसुरक्षाका लागि आवश्यक परामर्श सचेतना र संरक्षण प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने कुरा उल्लेख गरेको छ ।

त्यस्तै धनगढीले पनि लैंगिक हिंसामा परेकाहरुलाई पुनःस्थापना केन्द्रमा अस्थायी रुपमा आश्रय दिई उनीहरुको क्षमता विकास गरी स्वरोजगारमूलक कार्यमा सहभागी गराउने, उच्च विद्यालयहरुमा विद्यालय स्वास्थ्य नर्स राखी किशोर किशोरीको प्रजनन स्वास्थ्य, महिनावारी व्यवस्थापन, पोषण तथा सरसफाइ जस्ता प्रतिकात्मक सेवाहरुको प्रवद्र्धन गर्ने र हानिकारक अभ्यास उन्मूलन नीति २०७८ ले तय गरेको कार्ययोजना कार्यान्वयन गरिने लगायतका कुराहरुलाई नीति तथा कार्यक्रममा समेटेको छ ।
कृष्णपुर नगरपालिकाले पनि २०७९/०८० को नीति तथा कार्यक्रममा महिलाको आङ खस्ने समस्याका लागि नगरमा स्वास्थ्य शिविर सञ्चालन गरिने, गर्भवती महिलाहरुको गर्भ जाँचलाई प्रभावकारी बनाउन घुम्ती अल्ट्रासाउण्ड सेवा सञ्चालनलाई निरन्तरता दिने लगायतका विषयवस्तु समेटेको छ ।

तर, नीति तथा कार्यक्रम र बजेटको तालमेल नमिलेको पाइएको छ । अन्तक्र्रियामा प्रस्तुत विवरण अनुसार किशोर किशोरीको जनसंख्याको अनुपातमा स्थानीय सरकारबाट यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम र बजेट अत्यन्तै न्यून विनियोेजन गरिएको पाइएको छ । त्यस्तै, संघीय तथा प्रादेशिक तय गरिएका नीति नियमहरुसँग नबाझिने गरी हरेक स्थानीय सरकारले आवश्यक नीति नियम निर्माण गर्न नसकेको, सहयोगी निकायहरुबाट सञ्चालित कार्यक्रमलाई नीति वमोजिम तालमेल गरी रातो किताबमा समावेश गर्न नसकिएको लगायतका कुराहरु अन्तक्र्रियामा उठाइएका थिए ।
अन्तक्र्रिया कार्यक्रममा संघीय सरकारले तय गरेको विद्यालय शिक्षा क्षेत्र योजनाअनुसार हरेक सामुदायिक विद्यालयमा बृहत यौनिकता शिक्षा लागु गर्ने योजनालाई स्थानीय सरकारले चाँडो लागु गर्न पहल गर्नुपर्ने कुरामा जोड दिइएको थियो । किशोर किशोरीहरुका लागि शिक्षामा लगानी, किशोर किशोरीमैत्री स्वास्थ्य सेवामा लगानी र बृहत यौनिकता शिक्षामा लगानी गरी बाल विवाहको अन्त्य गनिुपर्ने, किशोरी सशक्तीकरण, जीवनउपयोगी तथा रोजगारमूलक शिक्षा दिइनुपर्नेमा जोड दिइएको थियो ।
बजेट अभाव लगायतका कारणले भनेजति गर्न नसकिएको र मानव स्वास्थ्य तथा प्रजनन स्वास्थ्यलाई विशेष चासोका साथ हेरी आगामी दिनमा प्राथमिकता छुट्याई स्वास्थ्यमा बढी लगानीको वातावरण सिर्जना गर्ने सरोकारवालाले प्रतिवद्धता जनाएका छन् ।
















