अत्तरिया– जिल्ला अस्पताल डोटीको शव गृहमा एक शिशुको शव राखिएको छ । पोस्टमार्टम गरिसकिएको शव बुझ्ने कोही नभएपछि व्यवस्थापन गरिएको छैन । अन्दाजी ८/९ महिनाको जस्तो देखिने शिशुको शव सेती नदीमा फेला परेको थियो । डोटीको शिखर नगरपालिका–६ तिलतालिस्थित सेती नदीमा गत कात्तिक १ गते बुधवार साँझ शिशुको शव पाइएको थियो । शिशुको शव कहाँबाट आयो, कसैले फाल्यो वा शिशुका आफन्त को हुन् भन्ने विषयमा भने प्रहरी नै अनभिज्ञ छ ।
बेवारिसे अवस्थाको सो शव झण्डै दुई महिनादेखि शव गृहबाट स्थानीय प्रशासनदेखि सम्बन्धित सबैलाई गिज्याइरहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले डीएनए निकाल्ने प्रक्रियामै ढिलाइ भएकाले शव व्यवस्थापनमा पनि ढिलाइ भएको बताए । उनले प्रहरीबाट हुने सबै प्रक्रिया पूरा भइसकेको र अब छिटै व्यवस्थापन हुने बताए ।


शिखर नगरपालिकाका नगरप्रमुख दीर्घबहादुर बलाय आफूहरूले शव व्यवस्थापनमा समन्वय र सहजीकरण गर्न मात्र मिल्ने बताउँछन् । ‘बेवारिसे शव व्यवस्थापनका लागि सीडीओेको अध्यक्षतामा समिति बनाइएको हुन्छ, जसमा सदस्य म पनि हुन्छु । समितिले बैठक बसेर निर्णय गरेर शव व्यवस्थापन गर्छ । हामीले नगरपालिकाबाट गर्ने समन्वय र सहजीकरण सबै सहयोग गर्छौँ’ उनले भने ।

उनले सो शिशुको शवका लागि नगरपालिकाबाट ६ हजार रुपैयाँ सहयोग गरिसकेको बताए । ‘हामीले ६ हजार रुपैयाँ सहयोग गरिसकेका छौँ, नगरपालिका क्षेत्रभित्र पाइएका अहिलेसम्मका सबै बेवारिसे शवका लागि हामीले सहयोग गरेकै छौँ’, उनले भने, ‘जिल्ला प्रहरीबाट सिधै निर्देशन दिएर पत्र आएको छ, त्यसरी सोझै निर्देशन दिन पाइँदैन नि । शव व्यवस्थापनको प्रक्रियाअनुसार जानुपर्यो ।’
यता, जिल्ला प्रशासन कार्यालय डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले भने शव व्यवस्थापनको काम पालिकाको भएको बताए । ‘त्यो समितिबारे मलाई जानकारी भएन, थुप्रै समितिहरू बनेका हुन्छन्, परेका बेला थाहा हुने हो’, उनले भने, ‘मेरो प्रहरीसँग कुरा भयो, प्रहरीलाई सोध्दा पालिकाले गर्छ भन्ने आयो । पालिका क्षेत्रभित्रका बेवारिसे शव व्यवस्थापनको काम पालिकाले नै गर्ने हो । कुरा भइसकेको छ, सहजीकरण समन्वय जे गर्ने हो त्यो उहाँहरूले गर्नुहुन्छ होला ।’

जिल्ला अस्पताल डोटीका व्यवस्थापन समिति अध्यक्ष धनबहादुर नेपालीले शव व्यवस्थापनमा कसैले पनि चासो नदेखाउँदा समस्या भएको बताए । ‘जिल्ला प्रशासन, प्रहरी, नगरपालिका सबै ठाउँ धाइसके, एकले अर्काको काम हो भन्दै पन्छिरहनुभएको छ, कसैले पनि केही गरिरहनुभएको छैन, खै किन हो’, उनले भने । उनका अनुसार अस्पतालमा एउटा मात्र मर्चुरी फ्रिज छ । जसमा दुई ओटा शव राख्न मिल्छ ।
सो फ्रिजमा दुई ओटा शव राखिएका हुँदा अब अर्को शव आए समस्या हुने उनी बताउँछन् । बेलाबेलामा बत्ती पनि गइरहने हुँदा शव गन्हाउन थालेको उनले बताए । ‘लामो समयसम्म शव राखिरहँदा सड्ने गन्हाउने समस्या हुन्छ, बेलाबेला बत्ती गइरहन्छ, सधैँ बिजुली हुँदैन । बिजुली भए पनि लामो समयसम्म फ्रिज चलाउँदा महशुल बढी आउँछ, त्यो तिर्न नि समस्या नै हुन्छु’ उनले भने । यसरी स्थानीय प्रशासन, पालिका र प्रहरीले एकअर्कालाई देखाइरहँदा सडिरहेको शिशुको शवले भने मानवता खोजिरहेको छ ।















