धनगढी – कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क रूपमा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरले दुईवटा मेसिन खरिद गरेर शव चिस्यान सेवा सुरु गरेको हो ।
टाढा रहेका आफन्त आउने पर्खाइमा धेरै दिनसम्म शव राख्न सहज होस् भनेर यो सेवा सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए । यो सेवा सुरु भएसँगै धेरै दिनसम्म शव राख्न नसक्ने समस्याले विदेशमा रहेकाहरू आफन्तको मृत्यु हुँदा फर्केर मुखसमेत देख्न नपाउने अवस्थाको अन्त्य हुने उपमहानगरले जनाएको छ ।

‘हाम्रा धेरै दाजुभाइहरू वैदेशिक रोजगारीमा हुनुहुन्छ । आमाबुबाको मृत्यु हुँदा उहाँहरू मुखसमेत हेर्न पाउनुहुन्न,’ नगर प्रमुख हमालले भने, ‘मृत्युलाई त कसैले रोक्न सक्दैन, तर फर्केर आफन्तको अनुहार हेर्न पाइयोस् भनेर निशुल्क रूपमा शव चिस्यान केन्द्र सुरु गरेका हौँ ।’
आवश्यक परेकाहरूको घरसम्म नगर प्रहरीले नै शव चिस्यान मेसिन पु¥याइदिने उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले करिब सवा दुई लाखको लागतमा विद्युतबाट सञ्चालन हुने दुईवटा शव चिस्यान मेसिन खरिद गरेको छ ।
विदेश वा घरबाट टाढा रहेका परिवारका सदस्य आउँदा सम्म शवको सुरक्षाका लागि चिस्यान सेवा सुरु गरिएको उपप्रमुख कन्दकला कुमारी रानाले बताइन् ।
धनगढी उपमहानगरपालिकाले विपन्न परिवारलाई आफन्तको निधन हुँदा अन्तिम संस्कारका लागि दाउरा खरिद गर्न पाँच हजार रुपैयाँसमेत दिने गरेको छ । आफन्तको मृत्यु भएको खबर गरेपछि नगर प्रहरीले त्यतिवेलै घरमा गएर शोकाकुल परिवारलाई उक्त रकम हस्तान्तरण गर्ने गर्छन् ।















