अत्तरिया – सहकारीबाट ऋण लिएर सहकारीका सदस्यहरुले केही कृषि कार्य गर्नु आम कुरा हो । सहकारीका सदस्यहरुले सहकारीबाट सुलभ मुल्यमा ऋण लिई कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती लगायतका कृषि कार्यहरु गर्ने गर्दछन । त्यस्ता कयाँै उदाहरणहरु देख्न सकिन्छ । तर सहकारी संस्थाले नै बाख्रा पालन गरेको भने देख्न र सुन्न सकिन्न ।
तर कैलालीको अत्तरियामा रहेको एउटा सहकारीले भने आफैले बाख्रा पालन गरिरहेको छ । अत्तरियामा केही वर्षअघि देखी मात्रै सञ्चालनमा आएको गोदावरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (यसअघि गोदावरी आधुनिक कृषि सहकारी) ले आफैले बाख्रा पालन गरिरहेको हो ।
सहकारीले गत आर्थिक वर्षको अन्तबाट बाख्रापालन सुरु गरेको संस्थाका प्रबन्धक डिल्लीराज पनेरुले बताए । उनले संस्थाको आयस्रोत बढाउन बाख्रापालनको योजना ल्याएको बताए । ‘हामीले संस्था भरखरै स्थापित गरेका छौ, यहाँ यस्ता धेरै संस्थाहरुले काम सहकारीको काम गरिरहेका छन’ उनले भने ‘शेयरसदस्यहरुमाझ छिट्टै स्थापित हुन र संस्थाको आम्दानीमा सुधार गर्न हामीले बाख्रापालनको योजना ल्याएका हौ ।’



संस्थाले गोदावरी नगरपालिका – ४ बुढितोलामा बाख्रा फर्म सञ्चालन गरेको छ । उक्त फर्ममा ३० वटा बाख्राहरु राखिएको प्रबन्धक पनेरुले बताए । बाख्राको हेरचाह गर्नका लागि एक जना कर्मचारी खटाईएको छ । करिब १८ लाख बढीको लगानीमा फर्म सञ्चालन गरिएको पनेरुले बताए । उनका अनुसार बाख्रापालनका लागि धनगढीमा रहेको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अनुदान पनि दिएको छ । केन्द्रको ८ लाख ८८ हजार अनुदान र बाँकी संस्थाको लगानीमा बाख्रा पालन सञ्चालनमा ल्याईएको प्रबन्धक पनेरुले बताए ।
प्रबन्धक पनेरुले संस्थामा आवद्ध शेयरसदस्यहरुको आयस्रोत बढाउन फर्म मार्फत १/१ बाख्रा सदस्यहरुलाई दिने योजना रहेको समेत बताए । ‘हामीले भरखर फर्म सुरुवात गरेका छौ, यसलाई अझै विस्तार गर्ने योजना छ’ उनले भने ‘फर्मको विस्तार गरी यहाँ उत्पादन भएका बाख्रामध्ये केही बाख्रा शेयरसदस्यहरुलाई दिने योजना छ, जसले उहाँहरुको आयआर्जनका लागि पनि सहयोग पुगोस ।’



संस्थाले बाख्रा पालन मात्रै नभई सदस्यहरुलाई कृषि कार्यका लागि मलखाद समेत उपलब्ध गराउदै आएको छ । मलखादका लागि डिलरसिप ल्याईसकेको प्रबन्धक पनेरुले बताए । ‘सदस्यहरुको जिवनस्तर उकास्न कृषिक्षेत्र मुख्य पाटो हो’ उनले भने ‘त्यसैले हामीले कृषि क्षेत्रलाई बढी महत्व दिएका छौ ।’ सदस्यहरुलाई कृषि कार्य गर्न सहजता पुगोस भन्ने हेतुले नै संस्थाले मलखाद, विउविजन मात्रै नभई कृषि उपकरण पनि प्रदान गर्दै आईरहेको उनले बताए । कृषकहरुले समयमा मलखाद नपाउने समस्या बढी रहेकाले शेयरसदस्यहरुलाई मलखादमा समस्या नहोस भन्ने हेतुले मलखाद विक्रिवितरणका लागि डिलसिप ल्याईएको प्रबन्धक पनेरुले बताए ।
उनका अनुसार सहकारीमार्फत नै शेयरसदस्यहरुलाई बाख्रा पालन तालिम सञ्चालन गर्ने योजना समेत सहकारीको रहेको छ । कृषि क्षेत्रमा मात्रै नभई सहकारीले अन्य विविध क्षेत्रमा पनि संस्थाको हित र शेयरसदस्यहरुको सिप प्रर्वद्धन गर्ने खालका योजनाहरु ल्याएको छ ।
डेढ करोडको कारोबार
संस्थाले आर्थिक वर्ष २०७९/०८० को असार मसान्त सम्म डेढ करोडको कारोबार गरेको छ । बिहिबार सम्पन्न संस्थाको पाँथौ वार्षिक साधारण सभामा प्रस्तुत गरिएको प्रगती प्रतिवेदन अनुसार संस्थाले उक्त आर्थिक वर्षमा १ करोड ५५ लाख ७५ हजार ८४१ रुपैयाको कारोबार गरेको छ । जसबाट संस्थाले सम्पुर्ण खर्च कटाएर १ लाख ४२ हजार ३७८ रुपैया बचत गर्न सफल भएको छ ।
८ लाख ८५ हजार शेयरपुँजीका साथ २०७५ सालमा स्थापन भएको संस्थामा हाल ३९ लाख २ हजार ६ सय रुपैया शेयरपुँजी रहेको छ । संस्थाका शेयरसदस्यहरुको संख्यामा पनि वृद्धि भएको प्रतिवेदनले देखाएको छ । ३६ जना शेयरसदस्यबाट सुरु भएको सहकारीमा हाल ४२२ शेयरसदस्य रहेका छन ।
बिहिबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको पाँचौ वार्षिक साधारण सभा आयोजना गरिएको थियो । संस्थाका उपाध्यक्ष ललिता पाठकको सभापतित्वमा आयोजित सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सुदूरपश्चिम प्रमुख दिनेश गेलाल रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गेलालले सहकारीहरु सदस्य केन्द्रित हुन जरुरी रहेको बताए । उनले आफ्ना शेयरसदस्यहरुलाई जिवनस्तर उकास्ने गरी सहकारीहरुले कार्य गर्नुपर्ने बताए । उनले सहकारीहरुलाई जिवन्त राख्न सदस्यहरुको पनि उत्तिकै हात हुने बताए । उनले सहकारीमा नियमित बचत भने बढाउन जरुरी रहेको बताए । नियमित बचतले सहकारीलाई जिवन्त राख्न र अगाडी बढ्न मद्दत गर्ने समेत उनले बताए । उनले सहकारीहरुलाई माथी उकास्न राष्ट्रिय सहकारी बैंकले हरेक क्रियाकलापहरु गर्न तयार रहेको बताए ।
 
					 
 





 
 
 





 
 






