खाेज्नुहाेस

कैलालीमा पूर्वपश्चिम राजमार्ग टालटुल गरिदै

Image

अत्तरिया – कैलालीमा पूर्वपश्चिम राजमार्ग मर्मतको काम सुरु गरिएको छ । कैलालीको अत्तरिया देखि चिसापानी सम्म सडक मर्मत गर्न लागिएको हो । सडक बोर्डले ३ वटा ठेक्का मार्फत सडक मर्मतको काम अगाडि बढाइएको छ । जसअन्तरगत अत्तरिया देखि लम्की सम्म खाल्डा टालटुल (पट्के मर्मत) गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी पीयूष चटौतले बताए । उनका अनुसार अत्तरिया लम्की सडकमा २ ठेक्का मार्फत काम भइरहेको छ । पहिलो खण्ड अत्तरिया देखि कान्द्रा नदी सम्म रहेको छ भने दोस्रो खण्ड कान्द्रा नदी देखि लम्की सम्म रहेको छ ।

दुवै खण्डको मर्मतका लागि छुट्टाछुट्टै बोलपत्र आह्वान गरिएको भएपनि दुवै ठेक्का न्यु कुमारी कन्ट्रक्सनले पाएको छ । जसअन्तरगत पहिलो खण्डको मर्मतका लागि ३० लाख र दोस्रो खण्डको मर्मतका लागि ३१ लाखमा निर्माण कम्पनी सँग ठेक्का सम्झौता भएको छ । सडक मर्मतको काम २ महिना भित्रै सम्पन्न गरिने निर्माण कम्पनीका प्रतिनिधि लोकेश पनाडीले बताए । उनले सडकमा खाल्डा परेको ठाउँमा नयाँ ग्राभेल हालेर सडक कालोपत्रे गर्न लागिएको बताए ।

attariya hospital

पूर्व पश्चिम राजमार्ग अन्तरगत कैलाली क्षेत्र लामो समय देखि मर्मत नगरिँदा ठाउँ ठाउँमा खाल्डा परेका छन । जसले गर्दा सवारी साधन सञ्चालन गर्न निकै समस्या हुने गरेको छ । यद्यपि सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग नियमित रुपमा मर्मत भइरहेको बताउने गरेको छ ।

navjiwan hospital

पूर्व पश्चिम राजमार्ग अन्तरगत अत्तरिया देखि महेन्द्रनगर खण्डमा भने गत आर्थिक वर्ष मर्मत गरिएकाले हाल खाल्डाखुल्डी नरहेको सूचना अधिकारी चटौतले बताए । उनले सडकमा खाल्डा परेमा एकै वर्षमा पनि २ पटक सम्म राजमार्ग मर्मत गर्ने गरिएको बताए ।

लम्की चिसापानी खण्डमा आवधिक मर्मत

अत्तरिया देखि लम्की सम्म नियमित मर्मत कार्य अन्तरगत खाल्डा पुर्ने काम भइरहेकोमा लम्की देखि चिसापानी सम्म आवधिक मर्मत भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । जस अन्तरगत सडकको सतह सुधार गरिने सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले बताए । उनले लम्की देखि चिसापानी सम्म सडक बोर्ड मार्फत ६ करोड ८५ लाखको लागतमा सडक मर्मत गर्न लागिएको बताए । जसअन्तरगत सडकको पुरै सतहमा नयाँ कालोपत्रे गरिने उनले बताए । लम्की चिसापानी सडक खण्डको मर्मतका लागि सिस्ने कन्स्ट्रक्सन बाँके सँग ठेक्का सम्झौता गरिएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत चिसापानी गड्डाचौकी सडक खण्डलाई ४ लेनमा विस्तार गर्ने चर्चा धेरै वर्ष देखि चल्दै आएको भएपनि अझै पनि २ लेनको सडकलाई नै आवधिक मर्मत गरिदै आएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत चिसापानी गड्डाचौकी खण्डमा सवारी चाप धेरै हुने भएकाले यसलाई ४ देखि ६ लेनमा बिस्तार गर्ने नेताहरूले भाषण दिदै आएका छन । तर सवारी चाप बढ्दा पनि सडक विस्तार नगरिँदा सवारी चलाउन निकै समस्या हुने गरेको छ । साँघुरो सडकमा ठाउँठाउँमा खाल्डा परेर जीर्ण हुँदा झन दुर्घटनाको जोखिम समेत बढेको छ ।