बझाङमा हिजो दिउँसो ३ बजेर ६ मिनेटमा चैनपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पपछि लगातार परकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसयता १६ घण्टाको बीचमा ४ म्याग्निच्युडभन्दा माथिका १२ वटा परकम्प गइसकेको भूकम्पविद् चिन्तन तिमिल्सिनाले जानकारी दिए । “३ म्याग्निच्युडभन्दा माथिका एक सयभन्दा धेरै परकम्प गइसकेको छ,” उनले भने, “४.३ म्याग्निच्युडको परकम्प बिहान ५ः४३ बजे चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको छ ।”

ठूलो भूकम्प गइसकेपछि ४/५ म्याग्निच्युडको परकम्प जानु स्वभाविक रहेको भूकम्पविद् तिमिल्सिना बताउँछन् । “दुईरतीन दिनसम्म परकम्प जानु सामान्य हो । त्यसपछि के हुन्छ अध्ययन गरेपछि मात्रै ट्रेन्ड एनलाइसिस् गर्न सकिन्छ,” उनी भन्छन्, “६.३ म्याग्निच्युडको भूकम्प गइसकेपछि त्योभन्दा ठूलो अर्को भूकम्प फेरि जान सक्छ अथवा के हुन्छ अहिले नै भन्न सकिन्न ।”

















