खाेज्नुहाेस

सुदूरपश्चिम रोयल्समा स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी अनुबन्ध

Image

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ चरणमा प्रवेश गरिसकेको सुदूरपश्चिम रोयल्सले बाँकी खेलका लागि स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्सीलाई टोलीमा अनुबन्ध गरेको छ।

३३ वर्षीय मुन्सीलाई सुदूरपश्चिमले विदेशी खेलाडी ब्रान्डन म्याकमुलेनको स्थानमा टोलीमा भित्र्याएको हो। म्याकमुलेन स्वदेश फर्किएपछि उनको विकल्पका रूपमा मुन्सीलाई अनुबन्ध गरिएको फ्रेन्चाइजले जनाएको छ।

attariya hospital
navjiwan hospital

टी–२० क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित मुन्सी अनुभवी खेलाडी हुन्। उनले स्कटल्यान्डका लागि ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै २ हजार ५९८ रन बनाएका छन्। उनको उच्च व्यक्तिगत स्कोर १३२ रन रहेको छ। यसक्रममा उनले तीन शतक र १४ अर्धशतक प्रहार गरेका छन्।

महत्त्वपूर्ण खेलको संघारमा मुन्सीलाई टोलीमा भित्र्याएको सुदूरपश्चिमले उनको आगमनबाट ब्याटिङ लाइनअप थप मजबुत हुने अपेक्षा गरेको छ। ओपनिङमा आक्रामक सुरुवात दिलाउन सक्ने मुन्सीको अनुभव प्लेअफमा टोलीका लागि उपयोगी बन्न सक्ने देखिन्छ।

सुदूरपश्चिम रोयल्सले मंगलबार पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।