खाेज्नुहाेस

लथालिङ्ग शिव मन्दिर, कारोबारको छैन लेखाजोखा

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको शिव मन्दिर लथालिङ्ग बनेको छ । मन्दिरको जग्गा भाडामा दिएर व्यापार गरिरहेको मन्दिर व्यवस्थापन समितिले कारोबारको हिसाब किताब नै नराखेर मन्दिरलाई लथालिङ्ग बनाएको हो । मन्दिर व्यवस्थापन समितिले १० वर्ष देखि मन्दिरको भोगचलनमा रहेको जग्गा भाडामा दिएको छ । तर, पछिल्लो अढाइ वर्ष देखि भाडा पनि संकलन गरिएको छैन भने मन्दिरको आय व्यय विवरण पनि राखिएको छैन ।

मन्दिरको जग्गामा करिब ५० वटा सटर निर्माण गरिएका छन । ति अधिकांश सटर हाल सञ्चालनमा रहेपछि कसैले पनि अढाइ वर्ष देखि भाडा तिरेका छैनन् । मन्दिर व्यवस्थापन समितिले भाडा उठाउने मान्छे नै नपठाएपछि भाडा नतिरेको स्थानीय व्यवसायीहरूको भनाइ छ । १० वर्ष अगाडि समितिले निर्णय गरेर तोकेको भाडाको दर पनि हालसम्म परिवर्तन गरिएको छैन । समितिले १५ फुट बराबर जग्गाको १ हजार भाडा तोकेको छ भने नदी किनाराका जग्गाको प्रति १५ फुट बराबर ३ सय भाडादर तोकिएको छ । भाडामा जग्गा लिएका व्यवसायीले आफैले सटर निर्माण गरेका छन ।

attariya hospital

सम्झौतामा मन्दिरको जग्गामा स्थायी संरचना बनाउन नपाउने, अवस्था हेर भाडा वृद्धि गरिने, मन्दिरलाई प्रतिकुल असर पर्ने माछा, मासु, मदिरा विक्री गर्न नपाइने उल्लेख भएपनि हाल सो क्षेत्रमा पक्की संरचना निर्माण गरेर व्यवसाय सञ्चालन मात्रै गरिएको छैन मदिराको खुलेआम कारोबार समेत हुने गरेको छ । केही व्यवसायीले भने उक्त जग्गा मन्दिरको नभएको समेत दावी गर्ने गरेका छन ।

खुलेआम सम्झौता विपरित मन्दिरको जग्गा दोहन हुँदा पनि मन्दिर व्यवस्थापन समितिका पदाधिकारी भने मौन बसेका छन् । मन्दिरको जग्गामा व्यवसाय सञ्चालन गरेका नर बहादुर खत्रीले भाडा तिर्न आफूहरू तयार भएपनि भाडा उठाउने मान्छे नै नआएकाले भाडा नतिरेको बताए । उनले भाडा उठाउनु पूर्व मन्दिरले पुरानो हिसाब किताब सार्वजनिक गर्नुपर्ने बताए ।

navjiwan hospital

मन्दिरको जग्गा भाडामा लिएर किराना पसल सञ्चालन गरेका बाल कृष्ण खातीले स्थानीयको विरोध पछि भाडा तिर्न बन्द गरेको बताए । उनले मन्दिरका सचिवको मृत्यु पछि कसैले पनि भाडा नतिरेको बताए ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्प राज भट्टले भाडा सङ्कलनका लागि पटक पटक सूचना काटे पनि कसैले भाडा नदिएको बताए । उनले मन्दिरले कर्मचारी नै राखेर भाडा संकलन गर्न पठाए पनि भाडा तिर्न कसैले नमानेको बताए । उनले आर्थिक कारोबारको बारेमा आफूलाई जानकारी नभएको र, आर्थिक कारोबार राखेका सचिव निर्मल गुरुङको मृत्यु भएपछि आयव्ययका बारेमा जानकारी नभएको बताए । उनले मन्दिरको असोज २० गते साधारण सभा बोलाइएकाले साधारण सभामा मन्दिरको हिसाब किताब प्रस्तुत गरिने बताए । तर, मन्दिरको हिसाब किताब भएको रजिस्टर भने नभेटिएकाले उनको भनाइ छ ।

मन्दिरका चौकिदार दान बहादुर साउदले आफूलाई भाडा उठाउन समितिले पसलहरूको लिस्ट नै उपलब्ध नगराएको बताए । उनले सचिव हुँदा सम्म भाडा संकलन गरेको भएपनि सचिवको मृत्यु भएपनि भाडा नै नउठाएको बताए । ‘मैले भाडा पनि उठाउने गरेको थिए । सचिवले मलाई लिस्ट बनाएर दिनुहुन्थ्यो त्यही अनुसार मैले भाडा उठाउन्थे ।

सचिवको मृत्यु भएपछि अध्यक्षले बैठक नै राखेनन् । मलाई भाडा उठाउने लिस्ट नदिइएपछि मैले भाडा पनि उठाएको छैन’ उनले भने ‘अध्यक्षले बैठक बस्न आनाकानी गरेपछि अहिले सम्म भाडा उठाउने काम रोकिएको छ ।’ उनले अध्यक्षले भाडा उठाउनको लागि कुनै कागजात नै उपलब्ध नगराएको बताए ।

मन्दिरका पुजारी काली नाथ योगीले मन्दिर व्यवस्थापन समितिले आफू सँगै वार्षिक ४० हजार दिने सम्झौता गरेपनि त्यो कार्यान्वयन नभएको बताए । उनले मन्दिर लथालिङ्ग बनेको बताए । अत्तरिया बजार नजिकै रहेको मन्दिर धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको भएपनि व्यवस्थापन समितिको लापरवाहीका कारण लथालिङ्ग बनेको छ ।