खाेज्नुहाेस

कञ्चनपुरमा ‘केमिकल’ ले धान सुकेको पुष्टि

Image

कञ्चनपुर – कञ्चनपुरको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा झण्डै ४ सय विघामा लगाइएको धानबाली केमिकल मिसिएको पानीका कारण नष्ट भएको प्रमाणित भएको छ । धानबाली नष्ट भएको क्षेत्रको पानीको नमुना परीक्षण गर्दा पानीमा केमिकल भेटिएको हो ।

साउन अन्तिम साताको बाढीले डुबान भएको पुनर्वास नगरपालिकाको दोदा नदी किनारमा एकाएक धानबाली सुकेर नष्ट भएको थियो ।

attariya hospital

‘धानबाली नष्ट हुनुमो कारण केमिकल नै भएको पुष्टि भएको छ,’ परीक्षण रिपोर्टबारे जानकारी गराउँदै नगरपालिकाका कृषि शाखा प्रमुख कर्णबहादुर शाहीले भने, ‘तर त्यो केमिकल कहाँबाट आएको भन्नेबारे अब छानविन गर्नुपर्ने हुन्छ ।’ उनका अनुसार परीक्षण गरिएको पानीमा केमिकल अक्सिजन डिमाण्ड (सिओडी)र बायोकेमिकल अक्सिजन डिमाण्ड (बिओडी) को मात्रा भेटिएको हो ।

navjiwan hospital

बाढीपछि धानबाली सुक्न थालेपछि नगरपालिकाले साउन ३० गते र भदौ १ गते दुईपटक पानीको नमुना संकलन गरेको थियो । पहिलोपटक भीड धेरै भएकाले मुचुल्का बनाइएको थिएन । दोस्रोपटक नमुना संकलन गर्दा मुचुल्का समेत बनाइएको थियो ।

साउन ३० मा संकलन गरिएको नमुनामा सिओडीको मात्रा १४४ मिलिग्राम प्रतिलिटर र बिओडीको मात्रा ५७ मिलिग्राम प्रतिलिटर भेटिएको शाहीले बताए । उनका अनुसार दोस्रो पटक ४ दिनपछि भदौ १ मा संकलन गरिएको नमुनामा सिओडीको मात्रा ११ र बिओडीको मात्रा ४ भेटिएको छ ।

संकलन गरिएको दुवै नमुना सुदूरपश्चिम प्रदेश सरकारको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमार्फत भदौ ३ मा परीक्षणका लागि कृषि अनुसन्धान केन्द्र (नार्क) मा पठाइएको थियो । नार्कमा पानी परीक्षण हुन नसक्ने भएपछि काठमाण्डौंमै निजी प्रयोगशाला वाटर इन्जिनियरिङमा परीक्षण गरिएको हो ।

‘केमिकलकै कारण धान तथा अन्य घाँसपात सुकेको र माछा मरेको रिपोर्टमै उल्लेख गरिएको छ,’ शाहीले भने, ‘वनस्पती र जीवहरु बाँच्नलाई चाहिने भन्दा बढी मात्रामा सिओडी र बिओडी भेटिएको छ ।’ धान सुक्न थालेपछि कृषकहरुले नजिकै रहेको भागेश्वर सुगर मिलबाट बगेर आएको केमिकलकै कारण क्षति भएको आरोप लगाउँदै आएका छन् ।

सुगर मिल भएको क्षेत्र भन्दा माथि धानमा कुनै क्षति नपुगेकाले पनि कृषकदेखि प्राविधिकहरु मिलबाटै केमिकल बगेको हुन सक्ने अनुमान गरिरहेका छन् । शाहीले आइतबार नगरपालिकास्तरीय विपद व्यवस्थापन समितिको बैठक बसेर केमिकलका बारेमा थप छानविन गरिने बताए ।