खाेज्नुहाेस

गाई तड्पिँदै, आन्दोलन चर्किदै

Image


अत्तरिया – धरानमा गाई काटेर खाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि हिन्दु धर्म समर्थकहरू सडकमा उत्रिएका छन । बेला बेलामा गौ संरक्षणको माग गर्दै सडकमा आन्दोलन भइरहने गरेका छन । पछिल्लो समय धरानमा भएको घटनापछि देशैभरी हिन्दु समर्थकहरू आन्दोलित भइरहदा आहारा र आवासको अभावमा गाई तड्पिरहेको समस्या ओझेलमै छ । हाल आन्दोलन भइरहेकै सडकमा छाडा चौपाया आहारा र आवास विहीन छन । 

विश्व हिन्दु महासंघ प्रदेश उपाध्यक्ष राज प्रसाद जोशीले धरान घटनालाई प्रचारमा ल्याइएको भएपनि अरु ठाउँमा पनि गाईको अवस्था उस्तै रहेको बताए । ‘आज धरानको कुरा बढी प्रचारमा आएको मात्रै हो गाई सबै ठाउँमा मारिएका छन्’ उनले भने ‘अत्तरियाको तेघरीमा गौमारा केन्द्र छ । टीकापुरको गौमारा केन्द्र छ, देवरीयाको गौमारा केन्द्र छ, लम्की चुहामा गौमारा केन्द्र छ । जहाँ स्थानीय निकायहरूले गौ संरक्षणको नाममा घाँस पानी नदिएर वर्षाको हिलो र पुसको चिसो खुवाएर गाई मारिरहेको छ ।’ उनले गोदावरीमै २०७२ सालमा सुनियोजित तरिकाले गौ हत्या गरिएको बताए । उनले स्थानीय निकायले अहिले गाई मार्न तलब दिएर कर्मचारी राखेको आरोप लगाए ।

attariya hospital

गाई आहारा र आवास नपाएर मरिरहेका बेला हाल धरान घटनालाई जोडेर सामाजिक सदभाव भड्किने खतरा एकातिर छ । उता हिन्दु सन्त, साधुहरूले गाई झन सङ्कटमा पर्ने चिन्ता पनि व्यक्त गर्न थालेका छन । 

navjiwan hospital

गोदावरी धामका तुलसी गिरीले धरान जस्ता घटना  आगामी दिनमा झन बढ्ने संकेत देखिएको बताए । ‘जब सम्म हाम्रो देशमा हिन्दु राष्ट्र कायम हुँदैन तबसम्म यहाँ बिभिन्न किसिमका मठमन्दिर भत्किने छन । गौ को हत्या हुनेछ । संस्कृति चाडपर्वको हत्या हुनेछ । साधु सन्तको हत्या हुनेछ । त्यसैले नेपाललाई हिन्दु राष्ट्र बनाउन पर्छ’ उनले भने ‘हामी धर्मको लागि प्राण दिन सक्छौ । जब जब धर्मको नास हुन्छ तब तब सन्यासी नागाहरुको खुणा, भाला तरवार निस्किन्छ ।’ उनले गाई संरक्षण गर्छौ भनेर बोलेर मात्रै नहुने भएकाले प्रत्येक हिन्दुले घर–घरमा गाई पाल्नुपर्ने बताए । उनले भने ‘अहिले व्याउने बेला गाई घरमा लग्ने दूध दिएपछि रोडमा छोड्ने प्रचलन छ । यसले निकै दुखी तुल्याएको छ । यसमा हाम्रै हिन्दु लाचार भएका छन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका कैलालीका नेता विराज बिष्टले गाई राष्ट्रिय जनावर भएकाले यसको हत्या गर्नु भनेको धर्म संस्कृति र राष्ट्रियता माथि चुनौति भएको बताए । उनले हिन्दु सनातन र राष्ट्रियता जोगाउन सडकमा उत्रिन आवश्यक रहेको बताए । 

सुदूरपश्चिम प्रदेश सभा सदस्य खेमा देवी बिष्टले ८१ प्रतिशत हिन्दु धर्मावलम्बी बसेको देशमा केही व्यक्तिले राष्ट्रिय जनावर गौमाताको हत्या गरेर भिडियो सार्वजनिक गरेपछि फुहरर आन्दोलित भएको बताएकी छिन ।  ‘यो देशमा हिन्दु सनातन धर्म कायम गरिनु पर्छ, हिन्दु राष्ट्र कायम गरिनुपर्छ भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी लागेको छ’ उनले भनिन् ‘यो देशको धर्म संस्कृति बचाउनको लागि हामी सबै एकजुट हुन आवश्यक छ । हामीले कसैको घरमा कसले के खाइरहेको छ भनेर हेरेका थिएनौ । तर धरानमा जसरी गाईको मासु खाएको भिडियो सामाजिक सञ्जालमा हाल्ने काम गरेर हाम्रो धर्म संस्कृतिमा माथि प्रहार भएको छ त्यसको हामीले विरोध गरेका हौ ।’ उनले जबसम्म गाईको हत्या गर्नेलाई कारवाही गरिदैन तबसम्म आन्दोलन जारी रहने बताइन् । 

पछिल्लो केहि दिन यता कैलालीमा पनि हिन्दु धर्म सँग सम्बन्धित बिभिन्न संघ संस्थाहरूले आन्दोलनका कार्यक्रम गरिरहेको छन । सोही क्रममा शनिबार अत्तरियामा पनि लोक कल्याणकारी गौ सेवा ट्रस्ट गोदावरी र सुदूरपश्चिम ॐ कार परिवारले धरानमा भएको गौ हत्या विरुद्ध शान्तिपुर्ण याली निकालेको थियो ।