खाेज्नुहाेस

हटेन यात्रु कोच्ने प्रवृत्ति    

Image


अत्तरिया – सार्वजनिक सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु राखेर यात्रा गराउने प्रवृत्ति हट्न सकेको छैन । यातायात व्यवसायीहरूले सिट क्षमता भन्दा बढी सवारी यात्रा गराउने प्रवृत्ति नहट्दा यात्रुले भने निकै सास्ती खेप्नु परिरहेको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु राख्नको लागि थप सिट नै बनाएर यात्रु राखिने गरिएको छ । विशेष गरेर छोटो दूरीमा चल्ने विङ्गर‚ हाइस‚ मिनी बसहरुले यसरी अनुमति लिएको सिट भन्दा बढी सिट बनाएर यात्रु ओसारपसार गरिरहेका छन । यात्रु दिनेश बिष्टले क्षमता भन्दा बढी यात्रु राख्दा निकै समस्या भएको बताए । उनले सिटको क्षमता भन्दा बढी यात्रु राखिँदा पनि प्रहरी प्रशासनले भने कुनै वास्ता नगरेको बताए ।

उनी सवार विङ्गरमा १४ जनाको सिट क्षमता रहेपछि २० जना यात्रा गरिरहेका थिए । जसका लागि सवारी धनीले अनुमति नै नलिएर सिट थपेका थिए ।
अर्का यात्रु सागर भट्टले सवारी धनीहरुले क्षमताभन्दा बढी यात्रु चढाउँदा निकै सकसपुर्ण यात्रा गर्नु परिरहेको बताए । उनले सवारी धनीको फाइदाका लागि आफूहरू तोकिएको भाडा तिरेर पनि सकसपूर्ण यात्रा गर्न बाध्य भएको बताए । ‘भाडा पनि बढेको बढै छ । यात्रा गर्दा कोचेर यात्रु हाल्दा झन समस्या हुने गरेको छ’ उनले भने ‘यसको निराकरणका लागि सडकमा चेकजाँचमा खटिएका प्रहरीले पनि बस्ता गर्दैनन् ।’ 

attariya hospital

राजमार्गहरुमा ठाउँ ठाउँमा प्रहरी चेकजाँच हुने गरेको भएपनि क्षमता भन्दा बढी यात्रु यात्रा  गरिरहेको विषयमा उनीहरूले चासो दिने गरेका छैनन् । सवारी चेकजाँचका क्रममा प्रहरीले सवारी साधन र चालकका कागजात चेक गर्ने बाहेक अन्य कुरामा वास्ता गर्दैनन् ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीले भने आफूहरूले सवारी साधनहरुमा क्षमता भन्दा बढी सवारी साधन राखेको विषयमा चेकजाँच गरिरहेको दावी गरे । ‘हामीले सबै सवारी साधनमा यात्रु कती राखिएका छन भनेर पनि चेकजाँच गरिरहेको हुन्छौ’ उनले भने ‘यो विषय सवारी चेकजाँच भित्रै पर्ने भएकाले हामीले यसमा चेकजाँज नगर्ने कुरा हुँदैन ।’ 

उनले साना सवारी साधनहरुले सिट थपेको विषयमा पनि अपरेसनकै रुपमा काम सञ्चालन गरिएको बताए । ‘हामीले १ महिना अगाडि अपरेसनकै रुपमा बढी सिट थपिएका सवारी साधनबाट हटाएका थियौ’ उनले भने ‘कुनै सार्वजनिक सवारी साधनमा थपिएका सिट हटाउन छुटेका भए हामी त्यसलाई हटाउनेछौं ।’

उनले सवारी साधनमा अनुमति भन्दा बढी सिट थपेर यात्रु चढाउन नमिल्ने बताए । प्रहरीले क्षमताभन्दा बढी सिट हटाइरहेको दावी गरेपछि यस्ता सिट भने साना सार्वजनिक सवारी साधनमा भने छ्यापछ्याप्ती भेटिने गरेका छन ।

यस्ता सवारी साधनमा यात्रु हिड्न बनाइएको बाटोमा पनि सिट निर्माण गरेर चढाइने गरिएको हुन्छ । जसका कारण यात्रा सास्ती पूर्ण हुनुका साथै दुर्घटनाको जोखिम समेत बढेको पाइन्छ । यसरी साना सवारी साधनमा यात्रु बढाउने सिटमा मात्रै नभएर ड्राइभर बस्ने सिटमै समेत थप यात्रु बसाएर यात्रा गराउने‚ ढोकामा झुन्डिएर यात्रा गराउने गरिन्छ ।