अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । वर्षायाम लागेसँगै नगरक्षेत्रमा डेंगुका बिरामीको संख्या बढ्दै गएको हो । साउन यता मात्रै नगरमा १३ जनामा डेंगु रोग देखा परिसकेको मालाखेती अस्पतालका ल्याब टेक्निसियन निरीक्षक जनक राज जोशीले जानकारी दिए । 
गत वर्ष जम्मा ३४ जनामा डेंगु देखिएकामा चालु वर्षमा भने एक महिनाको अवधीमै १३ जनामा डेंगु देखापरिसकेको उनले बताए । उनका अनुसार हालसम्मको अवस्थालाई हेर्ने हो भने चालु आर्थिक वर्षमा डेंगुका बिरामीहरू ह्वात्तै बढ्ने देखिन्छ । ‘गत वर्ष जम्मा ३४ जना मात्रै बिरामी फेला परेका थिए’ उनले भने ‘तर यस वर्ष हालसम्म १३ जनामा देखिइसकेको छ, यही रेसियोमा जानेको भने गत वर्षको तुलनामा बिरामीको संख्या बढ्ने देखिन्छ ।’ उनले नगरका विभिन्न स्थानबाट दैनिक ४०–५० जना डेंगु परीक्षणकै लागि आउने गरेको बताए । हाल नगरको वडा नं. ३ बाट सबैभन्दा बढी डेंगुका बिरामीहरू देखिएको उनले बताए । उनले डेंगुका बिरामीहरू हाल मालाखेती अस्पतालमै परिक्षण गराएर घर फर्किएका र सबै अस्पतालको सम्पर्कमै रहेका बताए । उनका अनुसार डेंगु देखिएका बिरामीहरूको अवस्था भने सामान्य रहेको छ ।


लामखुट्टेको टोकाईबाट लाग्ने तथा सर्ने डेंगु रोग वर्षायाममा बढी देखिने गरेको गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । उनले पछिल्लो केही समय यता वर्षा हुँदा डेंगु सार्ने लामखुट्टेहरुमा बृद्धि भएको बताए । ‘पानी पर्दा घर वरपरका खाल्डा खुल्डी, खाली फोहोर भाँडा, सिसाका टुटेका भाग, टायर लगायतका स्थानमा पानी जम्छ’ उनले भने ‘त्यसरी जमेको पानीबाट नै लामखुट्टेको उत्पत्ति हुन्छ, जसका कारण पछिल्लो समय डेंगुका विरामीहरु बढी रहेका छन ।’ उनले डेंगुको कुनै औषधी भने नभएको बताए । ‘यो भाइरसबाट लाग्ने रोग भएकाले यसको कुनै औषधी छैन’ उनले भने ‘तथापी विरामी हुँदा देखिएका लक्षणहरुका आधारमा औषधी खानुपर्छ, त्यसरी नै यो रोग ठिक हुन्छ ।’

उनले डेंगु रोग मानिसमा बढीमा २ हप्ता सम्म रहने र त्यसपछि आफै निको हुने बताए । डेंगुबाट बच्नका लागि यसको बासस्थान नष्ट गर्ने उपाय नै सबैभन्दा बढी प्रभावकारी भएको बताए । ‘यो किरा बढीमा २ हप्ता सम्म जिवित रहन्छ । तर त्यसले पारेका फुलहरुबाट अन्य किराहरु उत्पन्न हुन्छन, जसले गर्दा डेंगु फैलिन्छ’ उनले भने ‘त्यसैले यसको बासस्थान हटाउनु नै डेंगुबाट बच्ने उत्तम उपाय हो ।’ त्यसका लागि नगरपालिकाले खोज र नष्ट गर अभियान नै सञ्चालन गरेको उनले बताए । उक्त अभियानमा लामखुट्टे उत्पन्न हुन सक्ने स्थानहरु खोजी गरी नष्ट गर्ने गरिएको बताए । ‘पानि जमेका विभिन्न खाल्डाखुल्डी, टायर, फुटेका सिसा, गमला, प्लाष्टिक लगायतमा जमेको पानिबाट डेंगु सार्ने लार्भाको वृद्धि विकास हुन्छ’ उनले भने ‘घर अगाडीका त्यस्ता चिजहरु नष्ट गर्न सके डेंगुबाट बच्न सकिन्छ ।’ नगरपालिकाले डेंगु रोग लागेका विरामीहरुको निःशुल्क परिक्षणको व्यवस्था गरेको पनि उनले बताए । ‘डेंगु परिक्षण हामीले निःशुल्क गरेका छौ, नगरका जुनसुकै वडाबाट पनि मालाखेती अस्पतालमा गए निःशुल्क परिक्षण हुन्छ’ उनले भने ‘यसको उपचार नभएकाले लक्षणको आधारमा खानुपर्ने औषधी जुनसुकै अस्पतालबाट लगे नी हुन्छ ।’
डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो । यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ । डेंगु रोग डेंगु भाइरसका कारणले हुने गर्दछ । अहिलेसम्म डेंगु मनिसबाट मनिसमा सरेको छैन । डेंगु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले मान्छेलाई टोक्दा मात्रै डेंगु रोग सर्दछ । गर्मी एवं वर्षाको समयमा यस्तो लामखुट्टे फैलने भय बढी हुन्छ । एडिज लामखुट्टे जमेको पानीमा जन्मने र हुर्कने गर्छ ।

यसको लक्षण तुरुन्तै नदेखिइ तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत पनि बग्न थाल्छ ।
डेंगुबाट बच्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो । त्यसका लागि लामखुट्टको वृद्धिविकास रोक्नुपर्छ । घर आसपास एवं टोल छेउछाउमा पानी जम्न दिनु हुँदैन । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ ।
झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ । यसको कुनै औषधी नभएकाले यसबाट बच्ने उपायहरु अपनाउनु नै उत्तम विकल्प हो । डेंगु लागेमा भने चिकित्सकको सल्लाह बमोजिम लक्षण अनुसारका औषधीहरुको प्रयोग गर्नुपर्ने हुन्छ ।
 
					 
 





 
 
 





 
 






