खाेज्नुहाेस

स्याउलेमा महायज्ञ लगाउँदा पनि छाडा चौपायाको समस्या उस्तै

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा छाडा चौपायाको व्यवस्थापन गर्ने भन्दै माघ १५ गतेदेखि सप्ताह ज्ञान महायज्ञ लगाइयो । छाडा चौपायाको समस्याले हैरान स्थानीयको महायज्ञबाट रकम संकलन गरेर छाडा चौपायाको व्यवस्थापन गर्ने योजना थियो ।

योजना अनुसार महायज्ञ संचालन गरिएपनि महायज्ञमा घोषणा गरिए अनुसार छाडा चौपायाको व्यवस्थापनका लागि गौशाला नबन्दा छाडा चौपायाको समस्या भने झन बढेको छ । छाडा चौपायाको व्यवस्थापनका लागि स्याउलेमै रहेको समैजी विश्वनाथ महादेव शिव मन्दिरमा श्रीमद्भगवत सप्ताह ज्ञान महायज्ञ लगाइएको थियो । महायज्ञमा संकलन भएको रकमबाट मन्दिरकै पछाडीको जग्गामा गौशाला निर्माण गरिने जनाइएको थियो ।

attariya hospital

तर, गौशाला बनाउने भनेर महायज्ञ संचालन गरेको ६ महिना बितिसक्दा पनि काम अगाडी नबढेपछि स्थानीय निरास भएका छन । स्थानीय बुद्धि राम चौधरीले राज्यले छाडा चौपायाको व्यवस्थापन गर्ने भनेर पटक–पटक ठग्दै आएकोमा अहिले भगवानको नाममा रकम उठाएर आफूहरु ठगिएको बताए ।

उनले हाल छाडा चौपाया राख्ने खोडी पनि हिलाम्मे भएर चौपाया थुन्न नमिल्ने भएपछि किसानहरु समस्यामा परेको बताए । ‘पहिले रातीको समयमा तारबार गरेर बनाएको खोडीमा थुनेर केही हद सम्म समस्या कम भएको थियो’ उनले भने ‘अहिले राती पनि छाडा चौपाडा खुला हुने भएकाले किसानको धान बाली खाएर सखाप पारेका छन ।’ स्याउलेका पुर्व भलमन्सा समेत रहेका चौधरीले गौशाला बनाउने भनेर महायज्ञ लगाएपछि आफूहरुले पनि सक्दो सहयोग गरेको भएपनि अहिले आयोजकले काम नै नगरिदिएको बताए ।

गौशाला संचालनको लागि आयोजना गरिएको महायज्ञमा २० लाख भन्दा बढी रकम संकलन भएको थियो । महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले महायज्ञबाट खर्च कटाएर हाल साढे ४ लाख मात्रै बाँकी रहेको बताए । उनले आफूले महायज्ञ व्यवस्थापनको काम मात्रै गरेर गौशाला निर्माणका लागि मन्दिर व्यवस्थापन समितिलाई बचेको रकम हस्तान्तरण गरेको बताए ।

navjiwan hospital

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बोगटीले गौशाला निर्माणको लागि काम सुरु गरेपनि झन्जटिलो प्रक्रियाका कारण गौशाला बनाउने काम सुरु हुन नसकेको बताए । ‘गौशाला निर्माणको लागि दर्ता गर्नुपर्ने प्रक्रिया रहेछ । त्यसका लागि १५ कट्टा भन्दा बढी जग्गा चाहिदो रहेछ’ उनले भने ‘सार्वजनिक जग्गा पाउन समस्या भयो ।’ उनले महायज्ञबाट बचेको रकम हाल मन्दिरको खातामा रहेको बताए ।

उनले आफुहरुले जग्गाको व्यवस्थापन गर्न नसकेपछि हाल सामुदायिक वनले नै गौशाला निर्माण गरिरहेको र, सोही गौशालामा महायज्ञबाट संकलन भएको रकम खर्च गर्ने योजना रहेको बताए ।

महायज्ञबाट संकलन भएको रकमले गौशाला बनाउने भनेको ठाउँमा हाल सुर्योदय सामुदायिक वनले छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै टहरा निर्माण गरिरहेको छ । वनकी अध्यक्ष जगत्रा सिंहले छाडा चौपायाले हैरान पार्न थालेपछि वनकै रकमबाट टहरा निर्माण गर्न लागेको बताइन् ।

उनले यसअघि वनमै छाडा चौपाया थुन्नको लागि खोडी निर्माण गरिएकोमा उक्त ठाउँ हिलाम्मे भएपछि छाडा चौपायाले किसानलाई दुःख दिन थालेपछि पक्की टहरा निर्माण गर्न लागिएको बताइन् । उनले टहरा निर्माणमा ८/९ लाख खर्च लाग्ने बताएन् । उनले टहरा निर्माणमा महायज्ञबाट उठेको रकम खर्च गर्ने वा नगर्ने भन्ने बारेमा टुङ्गो नलागेको बताइन् ।

वनले निर्माण गरिरहेको उक्त टहरा निर्माण भएमा करिब ६० वटा छाडा चौपाया थुन्न मिल्ने बताइएको छ । तर, हाल स्याउले बजार क्षेत्रमा डेढ सय बढी छाडा चौपाया रहेको स्थानीयले बताउने गरेका छन ।

छाडा चौपायाकै समस्या सामाधानका लागि संचालन गरिएको महायज्ञको उद्घाटन गर्दै प्रदेश प्रमुख र सांसदहरुले पनि सहयोग गर्ने आश्वासन दिएपनि हाल कतैबाट सहयोग नपाइएको स्थानीयको गुनासो छ ।