सुदूरपश्चिमको पहाडी ७ जिल्लाका किसानहरु यतिबेला मर्कामा परेका छन । उनिहरुले आफुले उत्पादन गरेको बस्तुको मुल्य पाईरहेका छैनन् । विगत एक सातादेखी कैलालीको बुढितोलामा भीमदत्त राजमार्ग पुर्ण रुपमा सुचारु नहुँदा किसानहरुले उत्पादन गरेका वस्तुहरु तराईसम्म आउन पाईरहेका छैनन्, जसका कारण उनिहरुले समस्या भोग्नुपरिरहेको छ ।
राजमार्ग अवरुद्ध हुँदा दैनिक जसो पहाडी जिल्लाहरुबाट आउने तरकारीहरु कैलाली कञ्चनपुरमा पुगेको छैन । जसले गर्दा किसानहरुका उत्पादित बस्तुहरु बारीमै कुहिएर गईरहेका छन भने उनिहरुको लगानी खेर गइरहेको छ । एकसाता सम्म राजमार्ग सुचारु नहुँदा तराईमा पनि तरकारीको मुल्य आकाशिएको छ । पहाडी जिल्लाबाट आउने तरकारी आउन नपाउँदा भारतबाट आयात हुने तरकारी पनि बढी मुल्य तिरेर स्थानीयहरुले खानुपर्ने बाध्यता छ ।

पहाडी जिल्लाबाट तरकारी खरिद गरेर तराई झरेका ट्रकहरू सडकमै अलपत्र परेका कारण तरकारी कुहिएपछि खानीडाँडा र बुढीतोला क्षेत्रमा तरकारी फालिरहेका छन । राजमार्ग सुचारुमा ढिलाई हुँदा त्यसले आम सर्वसाधारण र विशेषत किसानहरुलाई ठुलो मर्का परेको छ । पहाडी जिल्लामा उत्पादित तरकारी नआउदा एकातिर किसानहरुले मुल्य नपाएको भनेर समस्यामा परेका छन भने अर्कातिर नागरिकहरुले तरकारीको बढी मुल्य तिर्नुपरेको छ ।

त्यतिमात्रै नभई अवरुद्ध राजमार्गकै कारण पहाडी जिल्लामा डिजेल, पेट्रोल र एलपी ग्यासको पनि अभाव भएको छ । सडक अवरुद्ध भएको पाँच दिनपछि शनिबार मात्रै ट्रयाक खोलिए पनि हिलाम्मे सडकमा यातायात सेवा सञ्चालन हुन सकेको छैन । तराई र पहाड जोड्ने मुख्य राजमार्ग एक सातासम्म अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तु तथा अन्य सामग्री ढुवानीमा हुन थालेको छ । यातायातका साधन सञ्चालन नहुँदा डिजेल र पेट्रोलको अभाव चुलिएको छ भने पहाडका किसानले उत्पादन गरेको तरकारी कुहिन थालेको छ ।
कृषिप्रधान देश नेपालमा किसानले उत्पादन गरेका बस्तुहरु बारिमै कुहिनु जायज हैन । वर्षाैसम्म मेहनत गरेर र लगानी लगाएर उत्पादन गरिएका बस्तुहरुले मुल्य नपाएर बारिमै कुहिँदा किसानलाई ठुलो क्षति हुन जान्छ । जसका कारण उक्त किसान कृषि पेशा त्याग्न बाध्य हुन्छ ।
किसानहरुले कृषि व्यवसाय त्याग्दै जाने हो भने भारतिय बजारबाट आउने विषादीयुक्त तरकारीहरु खानुपर्ने बाध्यता नआउला भन्न सकिदैन । त्यसैले किसानले उत्पादन गरेका बस्तुहरु बजारमा पु-याउनका लागि विभिन्न उपायहरुको खोजि गरिनुपर्दछ ।
त्यसका लागि पहिलो पहलकदमी स्थानिय सरकारले गर्नुपर्दछ । आफ्नो स्थानिय पालिकामा उत्पादन भएका तरकारीले मुल्य पाउनु भनेको सो स्थानिय तहका बासिन्दा स्वरोजगार हुनु हो भने त्यो स्थानिय तह पनि तरकारीमा आत्मनिर्भर हुनु हो । तसर्थ किसानका उत्पादित तरकारीलाई यथासक्य रुपमा मुल्य दिने र बजारमा ल्याउने कुरामा ध्यान दिइनुपर्दछ ।















