खाेज्नुहाेस

गोदावरी धामको संरक्षणमा ध्यान दिऔं

Image

सोमबार राती आएको बाढीले कैलालीको गोदावरी धाममा करोडौं रकम खर्च गरेर निर्माण गरिएका संरचनामा क्षति पुगेको छ । बाढिले गोदावरी धाममा निर्माण गरिएका मन्दिर, गुरुकुल, कुटि लगायतका संरचना संगै धामको मैदान, मन्दिरका पर्खालमा क्षती पुगेको छ ।

नदी किनारामा सामान्य तटबन्धनको भरमा निर्माण गरिएका संरचना बाढीको चपेटामा परेपछि अहिले यसको संरक्षणमा चुनौती थपिएको छ । अनपेक्षित रुपमा आएको बाढीले ठूलो क्षति पु–याएको बताइएपनि गोदावरी धाम नदीको उच्च जोखिममै थियो । धाममा निर्माण गरिएका संरचनालाई नदीको जोखिमबाट जोगाउनको लागि उचित तटबन्ध बन्न सकेको थिएन ।

attariya hospital
navjiwan hospital

नदी किनाराको मैदानमा जोखिम मोलेरै करोडौंका संरचना निर्माण गरिएकोमासामान्य रुपमा निर्माण गरिएको ग्याभिन जालीको तटबन्धनमा पनि क्षति पु-याएकाले झन जोखिम बढेको छ ।

गोदावरी धाममा डिपिआर बिनै अन्दाधुन्द भौतिक संरचना मात्रै निर्माण गरेका कारण अहिले ति संरचना नदीको ठूलो जोखिममा परेका छन । उक्त क्षेत्रमा कुम्भ मेला लगाएर प्रचार प्रसार गरिएको भएपनि नदीको जोखिमबाट जोगिन भने समयमै ध्यान नपुग्दा अहिले बर्षातको समय चलिरहदा सो क्षेत्रमा बसोबास गर्ने गुरुकुलका विद्यार्थी, कुटीमा बस्नेहरुले पनि सास्ती खेप्नु परेको छ ।

कुम्भ मेला र धार्मीक कार्य नदी किनारमै हुने भएपनि नदी किनारमै भौतिक संरचना बनाएर ति संरचना नदीबाट जोगाउन उचित तटबन्ध हुन आवश्यक थियो । सामान्य तटबन्धका भरमा संरचना बनाउँदा आगामी दिनमा पनि झन क्षती हुने जोमिम कायमै छ ।

अहिले पनि नदीको जोखिमबाट बच्ने योजना बनाउनुको सट्टा जोखिमयुक्त क्षेत्रमै धमाधम नयाँ संरचना बन्ने क्रम जारी नै छ । त्यसैले अब जोखिममा परेको यस क्षेत्रमा तत्काल थप भौतिक संरचना निर्माण गर्नुको सट्टा नदीको जोखिमबाट बचाउने योजना बनाउन आवश्यक छ । त्यसका लागि कम्तिमा गोदावरीको पुरानो काठे पुल देखि आर्यघाट सम्म नदीको वहाव थेग्न सक्ने बलियो तटबन्ध बनाउन सरोकारवाला निकायले ध्यान दिन आवश्यक छ ।