पछिल्लो पुस्ताका युवायुवतीहरु लागुऔषधको दलदलमा फस्दै गईरहेका छन । उमेरको परिवर्तन सँगै विभिन्न कारणले पछिल्लो समय युवायुवतीहरुमा लागुऔषधको लत बसिरहेको छ । जसको मुख्य कारणका रुपमा लागुऔषध सेवन प्रतिको उत्सुकता, साथीभाईको संगत, मोबाईल तथा सवारी साधनको दुरुपयोग, अभिभावकहरुले जथाभावी रुपमा दिने पकेट खर्च तथा अभिभावकको व्यस्तता र निगरानीमा कमी लगायत रहेका छन । युवायुवतीमा लागुऔषधको बढ्दो प्रयोग र कारोबारका कारण यहाँको समाजमा नकारात्मक असर पर्दै गईरहेको छ । लागुऔषधकै प्रयोगका कारण हत्या, हिंसा, चोरी लगायतका अपराधजन्य गतिविधिहरु बढ्दै गईरहेका छन ।

कैलालीको अत्तरियालाई लागुऔषधको ट्रान्जिट प्वाईन्टका रुपमा लागुऔषध कारोबारीहरुले प्रयोग गर्न थालेका छन । भारतसँगको सिमानजिक पनि भएकाले यहाँ दैनिक रुपमा लागुऔषध कारोबारीहरु बढीरहेका छन । नजिकै सिमानाका भएकाले युवायुवतीहरु आफैले भारतिय बजारहरु पलिया, खजुरिया लगायत क्षेत्रबाट खरिद गरेर ल्याई सेवन गर्ने तथा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । सोही कारण पनि यहाँ लागुऔषधको कारोबार नियन्त्रण गर्नमा चुनौती छ । तर मुख्य गरी लागुऔषधमा फसेका युवायुवतीहरुलाई पारीवारीक रेखदेख नभएको अवस्था देखिएको प्रहरीले बताउदै आएको छ । यस्तो अवस्थामा लागुऔषधको कारोबार र प्रयोगमा नियन्त्रण गर्न मुख्य भुमिका अभिभावकको हुने देखिएको छ ।

परिवारले समय दिन नसक्दा युवायुवतीहरुले लागुऔषध को सेवन तथा कारोबारमा समय दिन थालेका छन । भुसको आगो सरी तिब्र गतिमा फैलिरहेको लागुऔषधको कारोबार कम गर्न अभिभावकहरुले आफ्ना बालबालिकाहरुमा अभिभावकीय भुमिका निर्वाह गर्न आवश्यक छ । पछिल्लो समय पैसा कमाउनतिरमात्रै ध्यान हुँदा बालबालिकाहरुको अवस्थाका बारेमा अभिभावकहरुलाई जानकारी भैरहेको हुँदैन, जसले गर्दा बालबालिकाहरु यस्ता कुलतजन्य क्रियाकलापहरुमा फस्दै गईरहेका छन ।
तसर्थ आफ्ना बालबालिकाहरुको उज्वल भविष्यका लागि अहिले देखी नै बालबालिकाको बानिव्यहोरा तथा साथीसंगतको पहिचान गर्न आवश्यक छ । बालबालिकाको निगरानी र रेखदेखमा विशेष ध्यान दिनुपर्दछ । परिवारबाट नै निगरानी भए बालबालिकाले नराम्रो कार्य गर्न पाउदैन । जसले गर्दा यहाँ हुने अपराधजन्य गतिविधिहरुमा पनि स्वतः कमी आउनेछ । प्रहरीले लागुऔषधको प्रयोग र कारोबार नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी अन्तरगत यस क्षेत्रमा स्कुल, कलेज, युवा क्लव, आमा समुह, बैंक, गाउँटोल, समुदाय संग समन्वय गरी सचेतना मुलक कार्यक्रम संचालन गर्दै आईरहेको छ । त्यसमा सबैको सहकार्य र सहयोग आवश्यक छ ।















