सुदूरपश्चिमको मुटुका रुपमा हेरिने कैलालीको अत्तरिया बजार वरपर रहेका सर्भिस लेनहरु जिर्ण बनेका छन । करिब २ दशक अघि निर्माण गरिएका ति सर्भिस लेनहरु मर्मत हुन नसक्दा जिर्ण अवस्थामा छन । अत्तरिया चोक देखि करिब ५ सय मिटर क्षेत्रमा निर्माण गरिएका सर्भिस लेन सडक अहिले ठाउँठाउँमा भत्किएका छन । अत्तरिया धनगढी सडकमा निर्माण गरिएको पुरानो मोडेलको सर्भिस लेन सडक भत्काएर हाल नयाँ डिजाइनमा ६ लेन सडक निर्माण गरिएको भएपनि चोकको पुर्व पश्चिम राजमार्ग र चोकदेखि गोदावरी सडकमा भने पुरानै सर्भिस लेन सडक रहेका छन । पुरानो डिजाइन अनुसार निर्माण गरिएका उक्त सर्भिस लेन सडक र नाला बर्षौदेखि मर्मत गरिएका छैनन । जसका कारण सर्भिस लेनमा पानी जम्ने समस्या हुने गरेको छ ।

पहाड रोडको उत्तर तर्फ निर्माण गरिएको सर्भिस लेनको पानी नालामा निकास नहुँदा अहिले हिलाम्मे सडकमा परिणत भएको छ । पानिको निकासा नहुँदा सडकमै पानि जमेर अहिले उक्त सडकहरु धसिसकेका छन । पानिकै कारण ति सर्भिस लेनहरु हिलाम्मे हुने गरेका छन । ति सर्भिस लेनकै छेउमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरुलाई सडक हिलाम्मे हुँदा समस्या हुने गरेको छ । सो क्षेत्रमा नालाको पानी समेत निकासा हुँदैन । जसका कारण अत्तरिया चोकमा बर्षातको समयमा पानी जम्ने समस्या हुने गरेको छ । सर्भिस लेनमा पानी जम्ने समस्याका कारण हाल ति सडकहरु प्रयोग बिहिन जस्तै बनेका छन ।

सर्भिस लेनको मर्मतमा हालसम्म कुनै पनि निकायले चासो दिएका छैनन् । ठाउँठाउँमा फुटेका तथा हिलाम्मे सर्भिस लेनहरुका कारण सहरको सुन्दरता समेत घटेको छ । प्रदेशको मुटुका रुपमा चिनिने सहरको सुन्दरतामा दाग जस्तै देखिएका ति सडकहरुको मर्मतमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन । राजमार्गकै छेउमा रहेका ति सर्भिस लेनहरुमा आवतजावत नहुँदा पैदल यात्रीहरुले राजमार्ग भएर आवतजावत गरिरहेका छन । जसले दुर्घटनाको जोखिम समेत निम्त्याएको छ । त्यसैले सर्भिस लेनहरुको मर्मत गर्न जरुरी छ । नजिकको सरकार भएको नाताले स्थानिय सरकारले त्यस्ता समस्याहरुको समाधानमा अग्रसरता देखाउनुपर्दछ । सर्भिस लेनहरुको विस्तार गरेर केही फराकिलो बनाई मर्मत गरिन आवश्यक छ । सर्भिस लेन हिलाम्मे भएका कारण दुर्गन्धित देखिएको बजारक्षेत्र पनि सर्भिस लेनको मर्मत हुँदा व्यवस्थीत देखिनेछ । त्यसैले सर्भिस लेनहरुको मर्मतका लागि सरोकारवाला निकायले यथाशक्य पहल थाल्न जरुरी छ ।















