खाेज्नुहाेस

आज राष्ट्रिय धान दिवस मनाइँदै

Image

अत्तरिया – आज २० औं राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपाल सरकारको विसं २०६१ मङ्सिर २९ को मन्त्रीस्तरीय घोषणाले २०६२ सालको असार १५ देखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजका दिन धान रोपाई सँगै दही चिउरा खाने, असारे गित गाउने चलन पनि छ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ ।

दिवसका अवसरमा देशभर रोपाई लगायतका कार्यक्रम आयोजना गरीएको छ । सरकारले झण्डै एकतिहाईले उत्पादन बढाउने घोषणा गरीरहँदा विगत बर्षमा जस्तै धान रोपाइको सिजनमा यो वर्ष पनि रासायनिक मलको अभाव देखिएको छ । नेपालमा करिब १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । रासायनिक मल, सिंचाईको पहुच लगायतमा ध्यान सके आगामी ५ बर्र्षभित्र धानमा आत्मनिर्भर बन्न सकिने नेपाल कृषि अनुसन्धान परिषद नार्कको भनाई छ ।

attariya hospital
navjiwan hospital

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पु¥याएको छ । धानबाली तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत जमिनमा लगाइन्छ ।

विश्वका झण्डै चार प्रतिशत जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल रहेको छ । संसारमा झण्डै १७ करोड हेक्टर जमिनमा धानखेती हुन्छ । सबैभन्दा धेरै धान उत्पादन गर्ने देश चीन हो । चीन पछि भारत, इन्डोेनेशिया, बङ्गलादेश, भियतनाम प्रमुख धान उत्पादन गर्ने राष्ट्र हुन् । नेपाल विश्वको १७ औँ धान उत्पादन गर्ने देश रहेको अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरीको) तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा चैते, वर्षे र घैया, भदैया र हिउँदेधान (बोरो) का रुपमा धानखेती गरिन्छ । संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौर र नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो । झापालाई सरकारले धान उत्पादनको सुपर जोन घोषण गरी लागू गरेको छ । हिमालपारीका दुई जिल्ला मनाङ र मुस्ताङ बाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुन्छ ।