खाेज्नुहाेस

अत्तरियामा अत्याधुनिक जडीबुटी नर्सरी जीर्ण, छैन सञ्चालनको योजना

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको सुरक्षा सामुदायिक वनमा स्थापना गरिएको अत्याधुनिक जडीबुटी नर्सरी जीर्ण बनेको छ । गोदावरी नगरपालिका – १ मा पर्ने सुरक्षा महिला सामुदायिक वनमा निर्माण गरिएको अत्याधुनिक हाई टेक नर्सरी प्रयोग विहीन बनेको हो । करिब ८ वर्ष अगाडि जडीबुटी खेती गर्ने उद्देश्यले निर्माण गरिएको हाई टेक नर्सरी हाउस र सेड हाउस प्रयोग विहीन बनेका छन् । बिरुवाका लागि अनुकूल तापक्रम मिलाउन मिल्ने उक्त नर्सरीमा महँगो र यस क्षेत्रमा उत्पादन गर्न नसकिने बिरुवा उत्पादन गर्ने गरी निर्माण गरिएको थियो । हाल नर्सरी प्रयोगमा नआउँदा नर्सरीको प्लास्टिक च्यातिएका छन् भने जिआई पाइपबाट बनाएको ट्रस्ट पनि भत्किने अवस्थामा पुगेका छन् । यस्तै हाई टेक नर्सरीमा जडान गरिएको तापक्रम नियन्त्रण गर्ने उपकरण पनि गायब भएका छन् ।

navjiwan hospital

सामुदायिक वनकी अध्यक्ष लक्ष्मी भण्डारीले हाई टेक नर्सरीमा पहिलो वर्ष कुरिलो बेर्ना उत्पादन गरिएको भए पनि हाल कुरीलोले बजार नपाउन थालेपछि उत्पादन बन्द गरिएको बताइन् । उनले हाई टेक नर्सरीमा जडान गरिएका मोटर, स्टप्लाइजर लगायतका इलेकट्रोनिक सामान पनि चोरी भएको बताइन । उनका अनुसार वन उपभोक्ता समूह मध्येबाट १५ जना छुटै समूह बनाएर हाई टेक नर्सरी र सेड हाउसमा महिलाहरूले बिरुवा उत्पादन गरेका थिए । तर, पछिल्लो समय बजार नपाउनु र नर्सरीमा जडान गरिएका सामान चोरी भए पनि उत्पादन बन्द गरिएको बताइन । उनले नर्सरीमा बाँदरले पनि प्लास्टिक च्यातेकोले प्रयोग गर्न सक्ने अवस्था नभएको बताइन । उनले तत्काल नर्सरी सञ्चालन गर्ने कुनै योजना नरहेको बताइन ।

attariya hospital

जडीबुटी बिरुवा उत्पादन गर्न ईनमेप्स परियोजना अन्तरगत नेपाल जडीबुटी व्यवसायी संघ कैलाली शाखाले ९ लाखको लागतमा हाई टेक ग्रिन हाउस र ५ लाखको लागतमा सेड हाउस निर्माण गरेको थियो । सामूहिक रूपमा महिलाहरूले वन भित्रै नर्सरी उत्पादन र करिब १ बिगा जग्गामा कुरिलो, सर्पगन्धा, मेन्था, लगायतको खेती गर्दै आएका भए पनि पछिल्लो समय बजार नपाउँदा उत्पादन रोकिएको अध्यक्ष भण्डारीले बताइन । विभिन्न चुनौतीका बाबजुद जडीबुटी खेतीमा लागेको भए पनि बजारीकरणको समस्याका कारण पलायन हुने अवस्था आएको उनले बताइन् । सुदूरपश्चिममा जडीबुटीको राम्रो सम्भावना भए पनि पछिल्लो समय बजारीकरणकै समस्याका कारण धेरै जडीबुटी नर्सरीहरू बन्द अवस्थामा पुगेका छन् ।

सुदूरपश्चिममा जडीबुटीको राम्रो सम्भावना हुँदा पनि पछिल्लो समय बजारको समस्या, सरकारी नीतिका कारण यस क्षेत्रबाट उत्पादक किसान र व्यवसायीहरू पलायन हुने क्रम बढको छ । यस क्षेत्रमा राम्रो सम्भावना हुँदा पनि यसै क्षेत्रमा खपत गर्न बस्तु उत्पादन नहुँदा जडीबुटीको सिधै भारत निर्यात गर्नुपर्ने बाध्यता रहेको छ । तर, पछिल्लो समय भारतमा पनि सहज रूपमा जडीबुटी निर्यात हुन समस्या हुन थालेपछि नेपालमा प्राकृतिक रूपमा पाइने जडीबुटी र किसानले उत्पादन गरेको जडीबुटीले बजार नपाउँदा अधिकांश विस्थापित हुन पुगेका छन् । यस क्षेत्रमा नर्सरी मात्रै नभएर मेन्था, क्यामेमाईल, लेमनग्रास जस्ता जडीबुटी प्रशोधन गर्ने उद्योग पनि पछिल्लो समय बन्द अवस्थामा रहेका छन् ।