अत्तरिया – सशस्त्र प्रहरी बल नेपालका संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कैलाली कञ्चनपुरका विभिन्न गुल्म तथा विओपीहरुको अनुगमन गरेका छन । सशस्त्र प्रहरी बलका इकाईहरुको निरीक्षण भम्रणका क्रममा सुदूरपश्चिम आएका अर्यालले कैलाली कञ्चनपुरका गण, तालिम शिक्षालय, गुल्म, सीमावर्ति ईलाकाहरुमा रहेका प्रस्तावित सीमा सुरक्षा गुल्म, बि.ओ.पि लगायतहरुको अनुगमन गरेका हुन । उनले सीमावर्ती ईलाकाहरुको अवलोकन गर्नुका साथै कार्यरत सकल दर्जाका राष्ट्रसेवक कर्मचारीहरुलाई सारगर्भित निर्देशन समेत दिएका थिए ।


सशस्त्र प्रहरी बल, नेपाल नं.७ बैद्यनाथ वाहिनी मुख्यालयमा आई उनले अत्तरियामा सञ्चालन गरिएको स्वास्थ्य शिविरको पनि अवलोकन गरेका थिए । उक्त शिविरमा नेपाल ए.पि.एफ. अस्पतालबाट आएका प्रा.सशस्त्र प्रहरी नायव उपरीक्षक डा.अपूर्व श्रेष्ठ लगायत पद्मा अस्पताल प्रा.लि., अत्तरिया अस्पताल प्रा.लि. र सेती प्रादेशिक अस्पताल धनगढीबाट आएका जनरल मेडिसियन, नाक कान घाँटी, अर्थो सर्जन, गाईनो र मेडिकल अधिकृत चिकित्सकहरुले सेवा दिएका थिए ।

वहालवाला सशस्त्र प्रहरी कर्मचारी, अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारी एवं निजका परिवारजन र वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनहरु र स्थानियलाई लक्षित गरी नेपाल ए.पि.एफ. वाहिनी फिल्ड अस्पतालमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । उक्त शिविरमा १५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

यसैबिच अर्यालको प्रमुख आतिथ्यमा नेपाल पूर्व सशस्त्र प्रहरी केन्द्रीय संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापा, वरिष्ठ उपाध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणवाबु थापा, नं.७ बैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, अवकास प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिवाकर के.सी., नेपाल पूर्व सशस्त्र प्रहरी सुदूरपश्चिम प्रदेश संघका अध्यक्ष अवकास प्राप्त सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हर्क बहादुर रावल लगायत संघका पदाधिकारी, अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनहरुसँग समसामयिक विषयबस्तुहरुमा आधारित रही अन्तरक्रिया तथा छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा उपस्थित १० जना वीरगती प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनहरुलाई जनही रु. ४ हजारका दरले सहयोग स्वरुप नगद वितरण समेत गरिएको थियो ।














