टीकापर – टीकापुरमा साहित्य महोत्सव शुरु भएको छ । २७ गतेसम्म सञ्चालन हुने साहित्य महोत्सवको लेखक तथा विश्लेषक सिके लालको विद्वत प्रवचनबाट उद्घाटन गरिएको छ । विद्वत प्रवचन दिँदै लेखक सिके लालले साहित्यमार्फत सद्भाव सम्भव भएको बताएका छन ।
साहित्यको काम स्वीकार्यतामा सकिने नभई समझदारी निर्माण गर्ने भएकाले समझदारी बनाउन सके साहित्यमार्फत सद्भाव सम्भव रहेको उनले बताए । लेखक लालले साहित्यले सद्भाव ल्याउँछ भन्ने ग्यारेन्टी नभएपनि सबैको हितको भाव साहित्य भएकाले साहित्यले समाजको चित्रण गर्ने, अँध्यारोमा बाटो देखाउने तथा संयमता नगुमाउन प्रेरित गर्ने लगायतका कार्य गर्ने बताए ।


टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले टीकापुरमा यसअघि गजल र कविता वाचनमा मात्र सीमित साहित्यिक गतिविधि अब महोत्सवका रूपमा अगाडि बढेको र साहित्यिक महोत्सवमार्फत सामाजिक सद्भाव, विकास र सर्जकका मनहरूमा साहित्य भाव अझ प्रष्फुटन हुने अपेक्षा लिएको बताए ।
टीकापुर साहित्य समाजको आयोजनामा भइरहेको साहित्य महोत्सवको पहिलो दिन ‘बैकिनीको आँसुमा डुब्छ सुदूरपश्चिमको धर्ती’ विषयमा वादी अधिकार आन्दोलनकी अगुवा तथा पूर्व प्रदेश सभा सदस्य उमादेवी वादी, दृष्टि फाउण्डेशन धनगढीकी सञ्चालक कल्पना भट्ट, पत्रकार उन्नति चौधरीले भाग लिएका छन ।
‘साहित्य किन लेख्ने, किन पढ्ने रु’ विषयमा केशव दाहाल र शिवानी सिंह थारु, ‘पाठकको रोजाइमा उपन्यास नै किन’ भन्ने विषयमा नयनराज पाण्डे, अमर न्यौपाने, उमा सुवेदी, ‘आख्यानमा पहिचानका मुद्दा’ विषयमा अर्चना थापा, फूलमान बल, ‘बाटो बिराएको आजको शिक्षा’ विषयमा डाक्टर सञ्जीव उप्रेती र प्राध्यापक डा।भारती जोशीले छलफलमा भाग लिएका छन ।

















