होली पर्व खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ । त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।

सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदै नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् । विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ ।

नेपालका गाँउहरूमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । रंगहरुको पर्व होलीमा विभिन्न प्रकारका रंगमिश्रीत रंगहरुलाई प्रयोगमा ल्याईने गरिएको छ । यी रंगहरु केवल मनोरंजन र आकर्षकताको लागि मात्र नभई रंगहरुको धार्मिक एवं आध्यात्मिक महत्व पनि रहिआएको छ । होलिमा प्रयोग गरिने बिभिन्नथरी रंगहरुमध्ये नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरीले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ ।
लोकहितका लागि उनले विषपान गरेर महादेव नीलकण्ठका रूपमा कहलिए । पहेंलो रङ्ग विष्णु र योगेश्वर श्रीकृष्णको प्रिय रङ्ग हो । गणेशजी हरेक रङ्ग मन पराउँथे । रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाउने गर्थे भने मान्यता रहिआएको छ । यसवाहेक होलिमा प्रयोग हुने अन्य रंगहरुको पनि आफ्नै धार्मिक एवं आध्यात्मिक महत्व रहिआएको छ ।
होलीको आफ्नै धार्मिक, ऐतिहासीक एवम् पौराणिक महत्व भएपनि बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू भित्र्याएको छ । होलीमा आजका युवाहरु इच्छा विपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्ने गर्दछन् । जसलाई राम्रो मान्न सकिदैन् ।
रंगको पर्व भनेर पनि चिनिने यो पर्व एक आपसमा विभिन्न थरी रङहरुले एक अर्कालाई रंग्याउंदै आपसी स्नेह, सद्भाव एवं भाईचाराको सम्बन्धलाई अझ मजवुत बनाउने दिन हो । त्यसैले यो पर्वको अवसरमा जबरजस्ती रंग दल्ने, फोहोर फाल्ने, मदिरा सेवन गरेर जथाभावी होहल्ला गर्ने लगायतका नराम्रा कार्यहरु नगरौ । हाम्रो धार्मिक एवम् ऐतिहासीक महत्व बोकेको होलि पर्वलाई सभ्य रुपमा मनाऔं ।

















