केही समययता मत्थरजस्तै देखिएको कोरोना संक्रमणको सन्त्रास फेरि सुरु भएको छ । कोरोना भाइरसले नागरिकहरुलाई किस्ताबन्दीमा त्रास देखाईरहेको छ । विगत ३ बर्षदेखि कोरोना भाईरस केही समय रोकिने र पुनः महामारीको रुपमा फैलिने क्रम रोकिएको छैन् ।
कोरोनाभाइरसले मानिसहरूमा श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ, जुन सामान्य ज्वरो देखी सार्स, मर्स तथा कोभिड–१९ जस्ता प्राणघातक पनि हुन सक्छ । कोरोना रोक्ने एन्टिबडी निर्माण तथा कोरोनासँगै जोडिएका अन्य रोगहरुको उपचारका लागी भ्याक्सिनहरु लगाईएपनि हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन् । यस भाइरसको संक्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । यो भाइरस चीनको वुहान प्रान्तमा प्रथम पटक मानिसमा सरेको थियो भने हाल यसको प्रकोप विभिन्न देशहरूमा फैलिरहेको छ ।

सुरुवाती चरणमा विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले ‘कोभिड १९’ को नाम दिएको थियो र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिएको थियो । यो रोग मुख्यतः श्वासप्रश्वासको माध्यमबाट सर्छ । यो रोग संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सबैभन्दा छिटो सर्ने गर्दछ ।

कोभिड–१९ केही मत्थर हुँदा विश्वमा फेरी कोरोना भाईरसको अर्काे भेरियन्ट ओमिक्रोन फैलिएको थियो । हाल ओमिक्रोन बीए–५ को सबभेरियन्ट (नयाँ स्वरूप) बीएफ–७ छिमेकी चीन, भारतलगायत ९० भन्दा बढी देशमा फैलिएको छ ।
हालसम्म यो रोगको पुष्टि भएका संक्रमितमा हल्का ज्वरो, खोकी, बान्ता, झाडापखाला र घाँटी दुखाइजस्ता लक्षण देखिएको विज्ञहरु बताउँछन् । चिनमा दैनिक हजारौको संख्यामा कोरोना संक्रमितहरुथपदै गईरहेका छन । त्यसमध्ये सयौ मानिसहरुको मृत्यु समेत भैरहेको छ । खासगरी उत्तरी चीनमा कोरोनाको कारण कतिपय सहरमा लकडाउन नै गर्नुपरेको छ । छिमेकी देश भएकाले पनि नेपालमा कोरोना महामारी फैलने चिन्ता नागरिकमा छ ।
सुरुवाती चरणको कोरोना महामारीकै कारण केही देश बाहेक विश्वभर निषेधाज्ञा लागु भएको थियो । सो समयमा नेपालमा पनि निषेधाज्ञा लागु थियो । जसले यहाँको अर्थव्यवस्थामा नराम्ररी असर गरेको छ । देशको अर्थतन्त्र एकदमै जर्जर अवस्थामा पुगेको छ ।
फेरी पनि नेपालमा कोरोना भाईरस महामारीको रुपमा फैलिए त्यसको नतिजा एकदमै भयावह हुने निश्चित छ । त्यसैले कोरोना महामारी आउनुपुर्व स्वास्थ्य सजगता अपनाउन अनिवार्य छ । सरकारले पनि स्वास्थ्य सजगतामा विशेष ध्यान पु¥याउन जरुरी छ । महामारीको रुपमा फैलनु अगावै कोरोनालाई आउनै नदिन स्वास्थ्य सम्बन्धी विशेष सर्तकता अपनाउनुपर्ने देखिन्छ ।
















