जताजतै तारका चाँङ र बीचमा बिलबोर्डका कारण केही महिना अघिसम्म अत्तरिया चोकको अवस्था अत्यन्तै नाजुक थियो । बाहिरबाट हेर्ने मानिसहरुले अत्तरिया चोकलाई लाली चोकको उपमा दिन्थे । किनकी, चोकमा जडान गरिएको बिलबोर्डमा लाली चाउचाउको विज्ञापन टाँसिएको थियो । गोदावरी नगरपालिकाको मुख्य चोकका रुपमा रहेको अत्तरिया चोकमा देखिने उक्त दृष्यले नगरमै जनप्रतिनिधि नभएको आवास दिन्थ्यो । चोककै कारण जनप्रतिनिधि मात्रै नभई अत्तरिया नै बद्नामित हुन पुगेको थियो ।
चोकको दुरावस्था देखेर जनप्रतिनिधिलाई गाली नगर्ने सायदै भेटिन्थे । नगरपालिका र क्यालडोन ग्राफिक कम्पनीबीच चोकमा व्यवसायीक प्रयोजनका लागि बिलबोर्ड राख्ने सम्झौता भएको थियो । सम्झौता अनुसारको काम हुन नसक्दा चोकमा रहेको बिलबोर्डको व्यानर स्थानीयहरुले च्यातेका थिए ।

च्यातिएको ब्यानर झुत्रो बन्दा त्यसले चोकलाई कुरुप बनाएको थियो । चोकको दयनिय अवस्था देखेर चिन्तित नगरबासीहरुले स्वस्फुर्त रुपमा त्यहाँ राजा महेन्द्रको शालिक निर्माण गरे । उक्त शालिकले केही हद सम्म चोकलाई सुन्दर देखाएपनि थोत्रो बिलबोर्ड र झांगिएका तारहरुको अवस्था उस्तै थियो । बिलबोर्डलाई चोकबाट हटाउन पटक पटक स्थानीयहरुले माग गरेपनि सुनुवाई हुन सकेको थिएन ।

तर पछिल्लो समयमा अत्तरिया चोकको रुपरंग नै फेरिएको छ । कुनै समय बिलबोर्ड र झुप्पो रुपमा रहेका तारहरुका कारण कुरुप देखिने अत्तरिया चोक पछिल्लो समय व्यवस्थीत र सुन्दर देखिन थालेको छ । नयाँ निर्वाचित जनप्रतिनिधिहरुले चोकमा करिब ३० लाखको लागतमा विभिन्न योजनाहरुको निर्माण गरेको छ ।
अध्यारोमा दुर्घटना तथा चोरीका घटनाहरु हुने भन्दै चोकमा हाईमास्ट लाईट जडान गरिएको छ । चोकमा सानो डिस्प्ले बोर्ड पनि जडान गरिएको छ । जसमा सुदूरपश्चिमका पर्यटकिय क्षेत्रहरु झल्काउने खालका तस्बिर मात्रै नभई जनहितसम्बन्धी विभिन्न जानकारीहरु देखिने गर्दछन । त्यसैगरी चोकलाई सबैभन्दा बढी कुरुप देखाउने बिलबोर्ड हटाईएको छ ।
जसले गर्दा चोक व्यवस्थीत र सुन्दर देखिएको छ । त्यतिमात्रै नभई चोकलाई अझ सुन्दर देखाउने काम त वाटर फाउन्टिङले गरेको छ । राजा महेन्द्रको शालिक वरपर रहने गरी निर्माण गरिएको उक्त वाटर फाउन्टिङका कारण फोटो खिच्ने मानिसहरुको पनि आजकल चोकमा भिड लाग्ने गरेको छ । वाटर फाउन्टिङले चोकलाई रमणिय बनाएको छ । विगतको तुलनामा चोकको फेरिएको रुप आर्कषक छ ।
















