खाेज्नुहाेस

‘भत्ता मात्रै दिन्छन, अरु केही गर्दैनन्’

Image

अत्तरिया – शनिबार देशभर ३१ औं अन्र्तराष्ट्रिय अपांगता दिवस धुमधामका साथ मनाईयो । अपांगता भएका व्यक्तिका हकहितका लागी आवाज उठाउने विभिन्न संघसंस्थाहरुले दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु गरे ।

कैलालीको अत्तरियामा पनि उक्त दिवस धुमधामका साथ मनाईयो । विभिन्न संस्थाहरुको सहयोगमा राष्ट्रिय अपांगत महासंघ नेपालले एक कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको थियो । दिवसको अवसरमा अधिकांश अपांगता भएका व्यक्तिहरुले भने सरकारप्रति गुनासो पोखे । सरकारले अपांगता भएका मानिसहरुका लागी केही नगरेको भन्दै उनीहरुले कार्यक्रममै आफ्ना दुखेसोहरु राखेका थिए ।

attariya hospital

गोदावरी नगरपालिका – ५ का सुरेशलाल चौधरीले अपांगता भएका व्यक्तिप्रति राज्यको नजर पर्न नसकेको बताए । ३ वर्षको उमेर देखि नै पोलियोका कारण शारिरीक रुपमा अपांग बनेका उनले अपांगता भएका व्यक्तिहरुलाई जीविकोपार्जनका लागी सरकारले सहयोग नगरेको आरोप लगाए । ‘अपांगता भएका व्यक्तिलाई सरकारले दिने भनेको भत्ता हो, त्यो पनि तिन÷चार महिना विताएर ६ हजार रुपैयाँ दिन्छ’ उनले भने ‘त्यत्ति रकमले जीविकोपार्जन गर्न कसरी सम्भव छ ।

त्यसमा पनि घरमा बुवा समेत अपांग हुनुहुन्छ कमाउने कोही छैन, परिवार सहित मेरै जिम्मेवारीमा छ ।’ उनले आफुजस्ता अपांगता भएका युवाहरुलाई सरकारले रोजगारी दिनुपर्ने बताए । उनले आफु रोजगार बने परिवार पाल्न पनि अरुसँग हात फैलाउनुपर्ने अवस्था नआउने बताए । ‘घरमा अरु कमाउने कोही छैनन्, मैले नै सबैलाई पाल्नु छ । आफु अपांग छु, आफ्नै ठेगान छैन, परिवार कसरी हेरौ’ उनले भने ‘सरकारले सिपअनुसारको पनि जागिरको व्यवस्था गरिदिए समाजमा केही गर्छु है भन्ने आट त आउथ्यो । परिवारको लालनपालनमा सहजता त आउथ्यो ।’

navjiwan hospital

यस्तै धनगढी उपमहानगरपालिका – १० का स्थानीय अशोक रानाले पनि राज्यले अपांगता भएका व्यक्तिलाई गर्ने व्यवहारप्रति गुनासो गरे । ‘राज्यले केही दिएको छैन । तिनचार महिनामा भत्ता दिन्छ, त्यत्ति हो’ उनले भने ‘संविधानमा भएजस्तो हाम्रो हकअधिकार हालसम्म हामीले पाउन सकेका छैनौ ।’ उनले संविधामा मात्रै लेखिएको अपांगता भएका मानिसहरुको हकअधिकार व्यवहारमा लागु गर्न सरकारले तदारुकता देखाउनुपर्ने बताए ।

अपांग भएपनि आफ्नै व्यवसाय सञ्चालन गरिरहेका उनले आफ्नो ईच्छाशक्तिका कारण आफु समाजसंग नझुके पनि सबै अपांगता भएका व्यक्तिहरुले त्यस्तो गर्न नसक्ने हुँदा सरकारले जिम्मेवार बन्नुपर्ने बताए । ‘मलाई पनि सुरुमा अफ्ठ्यारो थियो । अपांग मानिसले केही गर्न सक्दैन भनेर कसैले ऋण दिन समेत मानेनन्, कसै कसैले त हेप्ने पनि गर्थे ।

तर आफ्नै परिवारका दाईभाइहरुबाट सापट लिएर उनीहरुको सहयोगमा मैले मोबाइल रिपेयरिङ पसल सञ्चालन गरेको छु, त्यसबाट आफै कमाएर म आफ्नो परिवार पाल्न सक्छु’ उनले भने ‘तर म सबै त्यस्तै हुन्छन भन्ने छैन, समाजको हेपाहा प्रवृत्तिले हरेश खाएर बसेका व्यक्ति पनि छन, उनीहरुका लागी सरकारले स्वरोजगार हुने केही योजनाहरु ल्याउनुपर्दछ ।’ उनले अपांगता भएका व्यक्तिहरुको खेलकुदतिर पनि सरकारले नजर नलगाएको आरोप लगाए । ‘म ह्विलचियर दौड प्रतियोगीतामा प्रथम भएको मान्छे हु, यहाँबाट आफ्नै लगानीमा काठमाण्डौ गएर विजेता बनेर आएको थिए’ उनले भने ‘तर सुदूरपश्चिममा कसैलाई पनि त्यस्तो कुरामा चासो छैन ।’

कार्यक्रममा सहभागी गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकायाले अपांगता भएका व्यक्तिहरुका लागी नगरपालिकाले केही बजेट विनियोजन गरेको बताईन् । उनले उक्त बजेटले अपांगता भएका व्यक्तिहरुका लागी स्वरोजगारमुलक तालिमहरुको आयोजना गरिने बताइन् । उनले नगरपालिकाले हाल ‘क’ र ‘ख’ वर्गको अपांगता परिचय पत्र प्राप्त गरेका व्यक्तिहरुलाई मात्रै भत्ता दिदै आएकोमा अब ‘ग’ वर्गका व्यक्तिहरुका लागी पनि पहल थाल्ने बताइन् । उनले आगामी दिनमा नगरमा बन्ने भौतिक संरचना पनि अनिवार्य रुपमा अपांगतामैत्री बनाउनुपर्ने विषयमा कार्यपालिकामा कुरा राख्ने बताइन् । नगरपालिका सदैव अपांगता भएका व्यक्तिहरुको साथ र सहयोगमा कटिबद्ध रहेको उनको भनाई छ ।

यस्तै सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव गणेश बहादुर सिंहले अपांगता भएका मानिसहरुले महसुस गर्ने खालका नीति नियमहरु बनेका बताए । उनले आवश्यक परेका अन्य कुराहरुका लागी पनि वकालत गर्नुपर्ने बताए । ‘अपांगता भएका व्यक्तिका विभिन्न समस्या छन, त्यसका समाधान पनि छन’ उनले भने ‘त्यसैले समस्यालाई उजागर गरी समाधानको दिशातिर उन्मुख हुनुपर्दछ, त्यसका लागी आवश्यक पर्ने कुराहरुको लागी सम्बन्धीत क्षेत्रमा वकालत गर्ने काममा कमी गर्नुहुदैन ।’

उनले विगतको तुलनामा अपांगता भएका व्यक्तिका समस्याहरु क्रमिक रुपमा समाधान भैरहेका उनले बताए । ‘केही समाधान भए, केही हुने क्रममा छन’ उनले भने ‘अपागता भएका व्यक्तिका समस्याहरु सरकार समक्ष पु¥याउनका लागी विभिन्न संघसंस्थाहरु छन, तिनीहरुले अपांगता भएका व्यक्तिहरुका हकहितका कुरा, तिनीहरुका समस्याका कुराहरुलाई प्राथमिकताका साथ उठान गरी सरकारसमक्ष पु¥याउने काम गर्नुपर्दछ ।’ उनले प्रदेश सरकारबाट अपांगता भएका व्यक्तिले पाउने सेवासुविधामा भने कमि नहुने बताए ।