प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै छ । दलहरुले आफ्नो चुनावी प्रचार प्रसार तिब्र बनाएका छन भने निर्वाचन आयोगले पनि निर्वाचन सम्बन्धी आवश्यक कार्यहरुको बन्दोबस्तलाई तिब्रता दिएको छ । चुनावी प्रकृयाहरु तिब्र रुपमा सुरु भएपनि मतदाता शिक्षाको हकमा भने त्यो लागु भएको छैन । हालसम्म कुनै पनि ठाउँमा मतदाता शिक्षा कार्यक्रम लागु गरिएको छैन । स्थानीय तहको निर्वाचनमा तीन लाख मत पूर्ण रुपमा बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार, कुल खसेको १ करोड २५ लाख ८४ हजार मतमध्ये २ दशमलब ४ प्रतिशत मत पूर्ण रुपमा बदर भएको हो । बदर भएको तीन लाख दुई हजार बाहेक बाँकी रहेको एक करोड २२ लाख मत पूर्ण वा आंशिक रुपमा सदर भएको देखिन्छ । गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा मात्रै नभई यसअघिका निर्वाचनहरुमा पनि बढी मात्रामा मतहरु बदर भएको तथ्यांक छ ।

निर्वाचन आयोगले २०७४ सालमा भएको स्थानीय निर्वाचनमा झन्डै ४० करोड खर्चेर २० हजार स्वयंसेवक मार्फत मुलुकभर मतदाता शिक्षा सञ्चालन गरेपनि महानगरहरुमै बदर मतको संख्या बढेको थियो । २०७४ को स्थानीय तह निर्वाचनमा विराटनगर महानगरमा २४ प्रतिशत, ललितपुर महानगरमा १९ प्रतिशत र जनकपुर उपमहानगरमा १४ दशमलव ४४ प्रतिशत मत बदर भएका थिए । २०७४ सालमा भएका स्थानीय तह निर्वाचनमा ३.१८ प्रतिशत मत बदर भएका थिए ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५ लाख ४८ हजार ५ सय ७० र प्रदेशसभामा ४ लाख ५० हजार ४ सय ९४ मत बदर भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । यसैगरी समानुपातिकतर्फ प्रतिनिधिसभामा ९.८४ प्रतिशत अर्थात् १० लाख ४२ हजार ७ सय ७७ र प्रदेशसभातर्फ १४.८१ प्रतिशत अर्थात् १५ लाख ६८ हजार १ सय ९१ मत बदर भएका थिए ।
२०४८ सालको निर्वाचनमा ३ लाख २२ हजार २३ मत बदर भएका थिए । २०५१ को मध्यावधि चुनावमा भने पहिलेभन्दा कम २ लाख ४१ हजार ७१ र २०५६ को संसदीय निर्वाचनमा २ लाख ४४ हजार ९ सय २ मत बदर भएका थिए । यस्तै, २०६४ को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५ लाख ६० हजार ११ र २०७० मा ४ लाख ७१ हजार ८ सय २६ मत बदर भएको निर्वाचन आयोगको तथ्यांक छ ।
समानुपातिकतर्फ पहिलो संविधानसभा निर्वाचनमा ४ लाख ७ हजार ४ सय ६२ र दोस्रो संविधानसभा निर्वाचनमा ३ लाख १२ हजार ८ सय ४१ मत बदर भएका थिए ।
मतदाता शिक्षा दिदाँ पनि बदर मतको संख्या बढेको छ भने निर्वाचनको मुखैमा पुग्दा पनि मतदाता शिक्षा नदिईदा यसपटक पनि बदर मतको संख्या बढ्ने अनुमान गर्न सकिन्छ । हरेक नागरिकले निर्वाचनमा भाग लिन पाउने र आफुले चाहेको उम्मेदवारलाई भोट हाल्न पाउने अधिकार संविधानले दिएको छ ।
तर, मतदाता शिक्षा नहुँदा मत हाल्न नजान्ने व्यक्तिका मत निरन्तर बदर भैरहेका छन । निर्वाचन आयोगले मतदाता शिक्षालाई मुख्य प्राथमिकतामा राखी अगाडी बढ्नुपर्दछ । निर्वाचनको समयमा मतदाताहरुले कसरी मत हाल्ने भन्ने कुराको जानकारी राख्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसैले आयोगले बेलैमा त्यसतर्फ ध्यान दिई यो निर्वाचनमा बदर हुने मतको संख्यामा कमी ल्याउन भूमिका खेल्नुपर्दछ ।

















