कैलालीको गोदावरी नगरपालिकाले दशै र तिहारलाई लक्षित गरी बजार अनुगमन सुरु ग¥यो । दशैको समयमा करिब ३ दिन अनुगमन गरिएको थियो भने तिहारमा ४ दिनसम्म लगातार अनुगमन भयो । अनुगमनका क्रममा धेरै पसलहरुबाट म्याद नाघेका बस्तुहरु बरामद भए । ति बस्तुहरु विक्रि योग्य नभएकाले नगरपालिकाले जफत गरेर नष्ट ग-यो । अनुगमनका क्रममा बिष्कुट, चिजबल तथा मसलाजन्य सामग्रीहरु बढी मात्रामा फेला परेका थिए ।
केही बाहेक प्रायजसो सबै नागरिकहरुले म्याद नहेरीकनै बस्तुहरु खरिद गर्दछन । कुनै कुनैलाई त त्यो म्यादको बारेमा पनि जानकारी हुदैन् । त्यस्ता नागरिकहरुले म्याद नाघेका वस्तुहरु खरिद गर्छन, उपभोग पनि गर्छन र अन्तमा त्यस्तै वस्तुहरुको उपभोगले रोगी पनि बन्छन ।


यथार्थमा भन्ने हो भने म्याद नाघेका बस्तुहरुको उपभोग गर्ने नागरिकलाई पनि त्यसको बारेमा जानकारी हुदैन । तर व्यापारीहरुले जानेर बुझेर पनि त्यस्ता वस्तुहरुको विक्रिवितरण गर्दा नागरिकहरुको स्वाथ्यमाथी खेलबाड भैरहेको हुन्छ । अन्जानमै गरेको कार्यलाई छुट दिन सकिएपनि स्वास्थ्य जस्तो संवेदनशिल विषयमा जानीबुझी गरिने कुराहरुलाई छुट दिन सकिदैन ।
अनुगमन भएका प्रायजसो सबै पसलहरुबाट म्याद नाघेका वस्तुहरु बरामद भएका थिए । कुनै कुनै पसलमा त झन ८/१० हजार भन्दा बढीका म्याद नाघेका सामग्रीहरु बरामद भए । बजारको यस्तो अवस्थाको सृजना नियमित अनुगमन नभएर पनि हो । हाल नियमित रुपमा भएको अनुगमनले बजारको यथार्थ चित्रण देखाएको छ ।
अझै पनि गोदावरी नगरपालिका भित्र रहेका कतिपय बजारहरुमा अनुगमन गर्न बाँकी छ । अनुगमन हुन नसकेका बजारहरुमा फेरी तिहार लगत्तै अनुगमन गरिने बताईएको छ । तर अहिलेको अवस्था हेर्दा, विगतका दिनहरुमा नागरिकहरुले कति म्याद नाघेका वस्तुहरुको उपभोग गरेका होलान भन्ने अनुमान गर्न सकिन्छ । बजारमा नियमित अनुगमन नहुनु, व्यापारीहरुले मनमर्जी रुपमा सामग्रीहरु बेचबिखन गर्नु र नागरिकहरु सचेत नहुँदा बजारमा अझै पनि यस्तो प्रवृत्ति दोहोरीन सक्छ ।
त्यसैले अनुगमन लाई निरन्तरता दिई, अखाद्य वस्तूहरु बरामद हुने पसल र व्यापारीलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । त्यसका लागी सरोकारवाला निकाय जिम्मेवार बन्नुपर्ने देखिन्छ ।

















